मध्यविन्दु (नवलपरासी), १९ माघ,
दोस्रो नेपाल चरा उत्सव यही माघ २६ गतेदेखि २८ गते सम्म नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ ।
चरा तथा यिनका वासस्थानको संरक्षण, जनचेतना सँगसँगै सरोकारवालाहरू लाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकाश गर्ने उद्देश्यका साथ दोस्रो चरा उत्सव आयोजना गरिएको दोस्रो नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले बताउनु भयो । “दोस्रो चरा उत्सव माघ २६ गतेदेखि २८ गतेसम्म तीन दिन कावासोती नगरपालिका–१३ मा सञ्चालन गरिने छ ”,उहाँले भन्नु भयो ,“चराको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु नै चरा उत्सवको मुख्य उद्देश्य रहेको छ ।”
नेपालमा सन् २०१८ मा पहिलो पटक चरा उत्सव भएको भए पनि त्यसलाई स्तर उन्नति गरी सन् २०१९ मा पोखरामा पहिलो नेपाल चरा उत्सव आयोजना गरिएको थियो । “पोखरामा सम्पन्न प्रथम नेपाल चरा उत्सव पाँच बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको थियो”,उहाँले भन्नु भयो,“बर्सेनि उत्सव गर्नु पर्ने भए पनि कोभिडका कारण रोकिएकोमा यस वर्षदेखि पुन सुरु गर्न लागिएको हो ।”
उत्सवको चार हजार पाँच सय स्थानीय र विद्यार्थीहरूले अवलोकन गर्ने र पंक्षि तथा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ वटा सङ्घसंस्थाका प्रतिनिधि, भारत, भुटान, श्रीलङ्का, मलेसिया, हङकङ, सिंगापुर, फिलिपिन्स, जापान, स्वीजरल्याण्ड, अमेरिका, आयरल्यान्ड, बेलायत, ताइवान लगायतका देशहरूबाट टुर अपरेटर लगायतको सहभागिता रहने वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टिकाराम गिरीले बताउनु भयो ।
उत्सवमा पंक्षि पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पक्षीकला प्रतियोगिता, पेपर प्रस्तुति, फोटो प्रस्तुति, पंक्षि अवलोकन, गिद्धका गतिविधि अवलोकन, जङ्गल सफारी, लोकसास्कृतिक प्रस्तुति, पक्षी सङ्गोष्ठी, प्यानल छलफल, विविध स्टल प्रदर्शनी, संरक्षण अवार्ड वितरण, अनुसन्धान अवार्ड वितरण, निःशुल्क स्वास्थ्य शिविर लगायतका गतिविधिहरू रहने जटायु रेस्टुरेन्टका व्यवस्थापक डी.बि. चौधरीले बताउनु भयो ।
“नेपालमा आठ सय ९४ प्रजातिका पंक्षिहरु पाइन्छन् भने नवलपुरको नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास पाँच सय ६५ प्रजातिका चराहरू पाइन्छन्”,उहाँले भन्नु भयो,“नेपालमा विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिका चराहरू पाइने गरेकोमा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास विश्वमै दुर्लभ मानिएका ३९ प्रजातिका चराहरू पाइने गर्दछ ।”
पोखरा पंक्षि समाजको आयोजना एवं जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र वर्ड एजुकेसन सोसाइटी को सह आयोजनामा दोस्रो नेपाल चरा उत्सव सञ्चालन गर्न लागिएको हो । उत्सवको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण सङ्घले समन्वय गरेका छन् ।