२०८१ चैत्र १०, आईतबार

नवलपुरमा तेलहन बालीको क्षेत्रफलमा वृद्धि

  • बिष्णु गौडेल
  • २०८१ मंसिर १७, सोमबार
नवलपुरमा तेलहन बालीको क्षेत्रफलमा वृद्धि

कावासोती, मङ्सिर १७ गते । नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल बढेसँगै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।

जिल्लामा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ । विगतका वर्षमा निरन्तर ओरालो लागेको तोरीको उत्पादनमा यस वर्ष क्षेत्रफल बढेको साथै तोरीमा राम्रो फूल लागेकाले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा गत वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिदा दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार दुई सय ८३ मेट्रिक टन रहेको छ भने सर्सियु एक हजार छ सय ८८ मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

गत आर्थिक वर्ष २०८०-८१ मा भन्दा यस वर्ष तोरी खेती गर्ने क्षेत्रफल १० हेक्टरले वृद्धि भएको उहाँले बताउनुभयो । छिटो धान खेती थन्काएको ठाउँमा लगाइएको तेलहन बाली फुलेको छ भने कहीँ कतै खेतमा भर्खर छरिएको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र नवलपुरका कृषि बाली विज्ञ सञ्जय ढकालले अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरी खेतीमा आकर्षित भएको बताउनुभयो । तोरी बाली लगाउन पनि सजिलो, खासै दुख पनि नहुने भएकाले जिल्लामा तोरी खेती फस्टाएको उहाँले बताउनुभयो ।

देवचुली १ का राम भण्डारीले करिब एक बिघामा तोरी खेती गर्नुभएको छ । यतिखेर उहाँले लगाएको तोरी खेतमा पहेलपुर भएको छ । फूल राम्रो लागेको छ, फल लाग्ने समयमा किराको प्रकोप नलागे उत्पादन वृद्धि हुने अनुमान गरेको भण्डारीले बताउनुभयो ।

जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । प्रतिहेक्टर १.०८ मेट्रिक टनले उत्पादन हुने गरेको यस जिल्लामा तोरी पुलेर फल लाग्ने मुख्य समयमा मौसम अनुकूलता हुनु नै उत्पादन वृद्धिका मुख्य कारण रहेको बताइएको छ । किसानले लगाएका तोरी उत्पादन वृद्धिका लागि कृषि ज्ञानकेन्द्र, पालिकाहरूले उन्नत जानका बिउ सँगै परामर्श प्रदान गर्दा उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास रहेको उहाँले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस