हुप्सेकोट, १२ वैशाख
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले वडा नम्बर ६ मौलाथरमा महिलाहरूका लागि पाठेघर सम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बिहीबार देखि सुरु भएको शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्स-रे सेवा सहित औषधि वितरण गरिएको छ ।
मध्यविन्दु प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.राम कुमार दास सहित ७ जना चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरिरहेको छ । शिविरको पहिलो दिन ए सय ५१ जनाले स्वास्थ्य चेक जाँच गराएका छन् । जसमध्ये एक सय १५ जनाको भिडियो एक्स-रे गरिएको छ ।
महिलाहरूमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघर खस्ने, पाठेघरमा मासु पलाएको समस्या भएका बढी भेटिएको डा. दासले बताउनुभयो । पाठेघरमा समस्या भएकाहरूलाई थप उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पतालमा पठाउने बताउनुभयो ।

पछिल्लो समय महिलाहरूमा पाठेघरको क्यान्सरको सङ्क्रमण बढ्दै गएको अवस्थामा महिलाहरूको लागि सहज रूपमा स्वास्थ्य जाँच गर्न र समस्या पहिल्याउन शिविरको आयोजना गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।
“महिलाहरूमा अझै पनि स्वास्थ्य सम्बन्धी चेतनाको कमी छ । उपचार सम्भव नभएपछि मात्रै अस्पताल पुग्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले पहाडी क्षेत्रमा शिविर गर्दै आएको छ”, अध्यक्ष पाण्डेले भन्नुभयो,“पाठेघर सम्बन्धी केही समस्या देखिएको भए छिटो उपचार हुने र रोगको सुरुवातमा पहिचान गर्नको लागि मात्रै नभएर स्वास्थ्य सतर्कताका लागि पनि शिविरले सहयोग विश्वास लिएको छु ।”
शिविरमा समस्या देखिएका महिलाहरूको थप उपचार र पाठेघर खसेका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया गर्नको लागि मध्यविन्दु प्रादेशिक अस्पताल लैजाने व्यवस्था गरिएको छ । शिविर शुक्रवार सम्म सञ्चालन हुनेछ ।
