हुप्सेकोट,
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकाले आफ्नो तेस्रो त्रैमासिक समीक्षा बैठक सम्पन्न गरेको छ । गाउँपालिकाले हासिल गरेका कार्य प्रगति तथा सेवा प्रवाहको समग्र समीक्षा गर्दै बैठक सम्पन्न गरिएको हो ।
बैठकमा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले अहिले सम्म प्राप्त गरेको उपलब्धिहरूलाई निरन्तरता दिँदै आगामी दिनमा थप उत्साहका साथ जनताको सेवामा लाग्न आग्रह गर्नु भयो । विषयगत शाखाले प्रस्तुत गरेको कार्य प्रगति विवरण सन्तोषजनक रहेको भन्दै अध्यक्ष पाण्डेले समयमै चालु आर्थिक वर्षका योजनाहरू सम्पन्न गरिने बताउनु भयो । गाउँपालिका भित्रको सबै क्षेत्रमा समान पहुँच र विकाश पुर्याउन समीक्षा बैठक वडा नम्बर ५ को रुद्रपुर धौवादीमा आयोजना गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनु भयो ।

बैठकमा उपाध्यक्ष पूर्ण सिङ रानाले यस आर्थिक वर्षमा राजश्व वृद्धिमा उल्लेख्य सुधार भएको बताउनु भयो । योजना अनुगमन देखि अन्य प्रशासनिक कुराहरूमा सहज सेवा प्रदान गर्न गाउँपालिका सफल भएको उपाध्यक्ष रानाले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले चालु आर्थिक वर्षका योजनाहरू मध्य धेरै समापन्न हुने क्रममा रहेको बताउनु भयो । स्थानीय सरकारको मर्म अनुरूप सेवाग्राहीलाई छिटो छरितो सेवा र आवश्यकता अनुसारको विकास गर्न कर्मचारीको पूर्ण साथ र प्रतिबद्धता रहेको उहाँले बताउनु भयो । बैठकले सेवा प्रवाहमा भएका उपलब्धिहरूको समीक्षा गर्नुका साथै बाँकी अवधिका लागि आवश्यक रणनीति तथा कार्य योजना तय गरेको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका विषयगत शाखा प्रमुखहरूले आ–आफ्नो शाखाको तेस्रो त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
बैठकमा बोल्ने जनप्रतिनिधि तथा कर्मचारीले विकास, सेवा तथा सुशासन सुदृढीकरणमा अझ प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
