२०८२ अषाढ २३, सोमबार

कावासोतीमा अपाङ्गता अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

  • निष्कर्ष
  • २०८२ बैशाख १७, बुधबार
कावासोतीमा अपाङ्गता अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
कावासोती,  १७ वैशाख
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकामा अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकहरूका लागि अपाङ्गता अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगरप्रमुख विष्णुप्रसाद भुसालले अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार सुनिश्चित गर्दै उनीहरूको समावेशी विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“अपाङ्गता भएका नागरिक हाम्रो समाजका अभिन्न हिस्सा हुन्, राज्यले उनीहरूको सम्मानपूर्वक जीवनयापन सुनिश्चित गर्नुपर्छ ।”
कार्यक्रममा उपप्रमुख फूलकुमारी थनेतले अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई मनोबल नघटाई अघि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नु भयो, “समाजमा भएका दृष्टिकोण परिवर्तन गर्न अभिभावकहरूको भूमिका महत्त्वपूर्ण छ, हामी सबै मिलेर सहयोगी वातावरण बनाउनु पर्छ ।”
प्रशिक्षक प्रमीला न्यौपानेले अपाङ्गता सम्बन्धी कानुनी प्रावधान, सेवा–सुविधा र अभिभावकको दायित्वका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । उहाँले भन्नुभयो, “अपाङ्गता कुनै कमजोरी होइन, सही सहारा र अवसर भएमा ती बालबालिकाले पनि जीवनमा उत्कृष्टता हासिल गर्न सक्छन् ।”
कार्यक्रममा कावासोती नगरपालिका वडा नं.११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारी, कार्यपालिका सदस्य गिता वि.क.,अपाङ्ग पुनर्स्थापन केन्द्रका अध्यक्ष जीवन सापकोटा,सचिव नीलकण्ठ तिमिल्सेना, बौद्धिक अपाङ्गताका अभिभावक सङ्घका जिल्ला अध्यक्ष हरिलाल गौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कावासोती नगरभित्रका विभिन्न वडाबाट आएका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागी अभिभावकहरूले यस्ता कार्यक्रमले आफूहरूलाई जानकारीमूलक मात्र नभई आत्मबलसमेत बढाउने प्रतिक्रिया दिएका छन् ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस