२०८२ मंसिर २९, सोमबार

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

  • निष्कर्ष
  • २०८२ बैशाख २२, सोमबार
बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

नवलपुर ,बुलिङटार गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न गरेको छ । कार्यक्रममा सरोकारवालाहरूले काल गण्डकी डाइभर्सन आयोजना र नदीजन्य पदार्थ उत्खनन प्रति चासो व्यक्त गरेका थिए । उनीहरूको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारी मगरले काल गण्डकी डाइभर्सन आयोजना सञ्चालन हुँदा काल गण्डकी सभ्यता र स्थानीय जनजीवनमा प्रतिकूल असर पर्ने भएकाले यसबारे विभिन्न स्थानीय तहसँग छलफल भइसकेको र आफू स्वयं सर्वोच्च अदालतमा भएको छलफलमा समेत सहभागी भइसकेको बताउनुभयो ।

नदीजन्य पदार्थ उत्खननको विषयमा विगतमा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण उत्खनन रोकिएको र हाल सो सम्बन्धमा रहेको रिट खारेज भएकाले अब कानुनी प्रक्रिया पुरा गरेर उत्खनन कार्य अघि बढाइने जानकारी उहाँले दिनुभयो ।

उहाँले चालु आवमा योजनाहरूलाई प्राथमिकिकरण गर्दै सिँचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको जनाउनुभयो । गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य पनि अब सक्रिय रूपमा अघि बढाइने तयारी रहेको जानकारी समेत अध्यक्ष सुनारीले दिनुभएको थियो ।

गाउँपालिकाले सुरुवात गरेका कामहरूमा स्थानीय समुदायको समेत सहभागिता हुन सक्दा मात्रै विकास निर्माणको कामले पूर्णता पाउने भन्दै उहाँले सबै पालिकावासीहरूले समेत साथ र सहयोगको अपेक्षा राख्नुभयो । आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायहरूको जनजीवन सुधारका लागि गाउँपालिका सदैव अग्रसर रहेको भन्दै उहाँले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरू पालिकाले अगाडी सारेको बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष दिलमाया राना मगरले सहभागी सबैलाई धन्यवाद दिँदै न्यायिक समिति तथा मेलमिलाप सम्बन्धी काम, सेवा प्रवाह र उपलब्धिबारे जानकारी गराउनुभयो । स्थानीय समुदायहरूमा न्यायिक समितिको काम र क्षेत्राधिकारको बारेमा जानकारी नभएका कारण पनि उल्लेखित रूपमा न्यायिक समितिमा उजुरीहरू आउन नसकेको बताउनुभयो ।

गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको बजेट, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रगतिबारे जानकारी दिइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसालले प्रस्तुतीकरण गर्दै चालु आवमा हालसम्म २२२ वटा योजना तथा कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार चालु आ.व. २०८१/८२ को लागि गाउँ सभाबाट स्वीकृत चालु तथा पुँजीगत योजनाहरूमा विनियोजन गरिएको कुल रकमको चालु तर्फ रु. १८ करोड ६५ लाख ८७ हजार ४७ रुपैयाँ (५४.०२ प्रतिशत) र पुँजीगत तर्फ रु. ४ करोड एक लाख ५२ हजार ६ सय ८१ रुपैयाँ ( २६.८ प्रतिशत) बजेट खर्च भइसकेको छ । यस अवधिमा आन्तरिक आयसहित विभाज्य कोषबाट आम्दानी सङ्कलन गरिएको तथा सिँचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका क्षेत्रमा प्राथमिकताका साथ योजना कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो ।

भुसालका अनुसार स्वास्थ्य सेवा क्षेत्रमा बुलिङटार गाउँपालिका गण्डकी प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको छ । पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा ९ वटा विद्यालयमा विद्युतीय हाजिरी प्रणाली सञ्चालनमा आएको छ भने राजश्व प्रणाली पनि पूर्ण रूपमा अनलाइन गरिएको छ । डिजिटल भिलेज निर्माण कार्य सम्पन्न भइसकेको र सबै वडाबाट घुम्ती शिविर सञ्चालन गरिएको जानकारी समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाले पर्याप्त जनशक्ति, स्रोतसाधनको न्यूनता, नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कानुनको दोहोरोपन, विपद् व्यवस्थापनमा कठिनाइ, अत्यधिक जनअपेक्षा र सीमित स्रोत जस्ता समस्या र चुनौतीको सामना गरिरहेको जानकारी गराउँदै सङ्घीय सरकारसँग स्रोतसाधनको स्वायत्तता, ठुला तथा अन्तरपालिका योजनामा प्राथमिकता, विपद् व्यवस्थापनमा सक्रियता र दक्ष जनशक्तिको सहज उपलब्धताको अपेक्षा राखेको बताइएको छ ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस