हुप्सेकोट – गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, हुप्सेकोट गाउँपालिका र दायित्वको संयुक्त सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम (GEEP) अन्तर्गत २० उत्कृष्ट उद्यमीको घोषणा तथा सम्मान गरिएको छ ।
रोजगारी तथा आय वृद्धि मार्फत समृद्ध नेपालको साझा परिकल्पना साकार पार्ने लक्ष्यसहित सञ्चालन गरिएको यस कार्यक्रममा गाउँपालिकाभित्र उद्यमशीलता प्रवद्र्धन गर्दै ग्रामीण युवालाई आत्मनिर्भर बनाउने उद्देश्य राखिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।
“हाल देशबाट दैनिक तीन हजारभन्दा बढी युवा विदेश पलायन भइरहेका सन्दर्भमा ग्रामीण स्तरमै उद्यम विकासलाई दिगो आर्थिक विकास र रोजगारी सिर्जनाको मुख्य माध्यमका रूपमा लिइएको छ”,उहाँले भन्नु भयो ।
कार्यक्रम अन्तर्गत पालिकाका ९८ जना आवेदक मध्येबाट ४० जना उद्यमीलाई छानिएको थियो । उनीहरुलाई दुई दिने व्यवसायिक योजना सम्बन्धी तालिम प्रदान गरि तालिममा सहभागी उद्यमीहरुले आ–आफ्ना योजनाहरू तयार पारेर प्रस्तुत गरेका थिए । प्रस्तुत योजनाहरूलाई ५ सदस्यीय छनौट समितिले मूल्यांकन गरी उत्कृष्ट २० उद्यमी छनोट गरेको कार्यक्रमका सहजीकरण प्रमुख सञ्जय पोख्रेलले बताउनु भयो । मूल्यांकनका लागि प्रस्तावनाको महत्व, उद्यमशील सोच, ग्राहक पहिचान, वित्तीय योजना, सामाजिक प्रभाव, स्थानीय स्रोत साधनको उपयोग लगायतका १० सूचकहरू अपनाइएको पोख्रेलले बताउनु भयो ।
“छनोट भएका २० उत्कृष्ट उद्यमीहरुलाई स्तरीकरण गरी उद्यम नवप्रवर्तन शिविरमार्फत व्यवसायिक योजना सुदृढीकरण गरिनेछ”,उहाँले भन्नु भयो,“साथै, पूरक साझेदारी, बजार विस्तार, नेतृत्व विकास, लगानी प्रस्तुतिकरण, प्रविधि अनुकूलन, ब्रान्डिङ तथा बजारीकरण जस्ता विभिन्न कार्यक्रमहरू प्रदान गरिनेछ ।”
स्थलगत अनुगमन (७५%) र SMS भोटिङ (२५%) को आधारमा उत्कृष्ट १० उद्यमी छनोट गरिने जनाइएको छ । SMS भोटिङको औपचारिक शुभारम्भ गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रम सञ्चालन समितिका संयोजक लक्ष्मी देवी पाण्डेले गर्नु भएको थियो ।
कार्यक्रमले साना तथा लघु उद्यमहरूलाई द्रुतिकरण गर्दै रोजगारी सिर्जना र आयवृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । यसले शासकीय क्षमता सुदृढीकरण तथा सरोकारवालाबीच ज्ञान आदानप्रदानलाई समेत प्रवद्र्धन गर्नेछ ।