मध्यविन्दु(नवलपरासी), ११ जेठ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगर भित्रका २ सय ४० जना महिलाहरूलाई नेतृत्व विकास एवं उद्घोषण कला सिप विकास तालिम प्रदान गर्ने भएको छ । नगर भित्रका १२ वटा वडाका २ सय ४० जना महिलाहरूको प्रत्यक्ष सहभागिता रहने गरी कार्यक्रम सञ्चालन गरिएको मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताउनु भयो । एक वटा वडा वाट कम्तीमा पनि २० जना महिलाहरूको सहभागिता रहने गरी १२ वटा वडामा तीन/तीन दिनको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनु भयो ।
आइतबार मध्यविन्दु नगरपालिका १५ मा कार्यक्रमको उद्घाटन गर्नु हुँदै नगर उपप्रमुख चौधरीले तालिमले महिलाहरूमा आत्मविश्वास, सार्वजनिक बोलाइ, विचार अभिव्यक्तिको क्षमता, र नेतृत्वकला विकास गर्ने लक्ष्य राखेको बताउनु भयो ।
“हामी महिलालाई नेतृत्वको भूमिकामा देख्न चाहन्छौँ, घरभित्रमात्र सीमित नरही समाजका अग्रपङ्तिमा उभिन सक्ने बनाउने हाम्रो उद्देश्य हो,” उहाँको भनाइ छ ।
मध्यविन्दु नगरपालिकाले यसलाई एक पटकको कार्यक्रम नभई क्रमिक रूपमा विस्तारित अभियानका रूपमा अगाडि बढाउने तयारी गरेको जनाएको छ । महिलाहरूको सिप विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको कार्यक्रमले विशेषतः ग्रामीण तथा नगर स्तरका महिलाहरूलाई सामाजिक रुपन्तरणमा जोडने अपेक्षा लिइएको उपप्रमुख चौधरीले बताउनु भयो ।
“पहिले म पनि बोल्न डराउँथेँ, आफ्ना कुरा मनभित्रै दबाएर राख्थेँ”,उहाँले भन्नु भयो,“तर निरन्तर अभ्यास र सही अवसरले मलाई अघि बढ्न हिम्मत दियो ।”
यो तालिमले महिलालाई आत्मविश्वासी बनाउने मात्र नभई समुदायभित्र प्रभावशाली वक्ता, सचेत नागरिक र भावी नेतृत्वका लागि सक्षम बनाउने आशा गरिएको मध्यविन्दु नगरपालिका वडा नं.१५ का वडा अध्यक्ष यम बहादुर केसीले बताउनु भयो ।
तीन दिने प्रशिक्षण कार्यक्रममा नेतृत्व विकास, उद्घोषण कला अभ्यासका माध्यम वाट सिप सिकाइने प्रशिक्षक विष्णु गौडेलले बताउनु भयो ।
नगरपालिकाले महिलाहरूको नेतृत्व विकासमा ध्यान दिएको भन्दै तालिममा सहभागी महिलाहरू उत्साहित भएका छन् । तालिममा सहभागी केही महिलाले पहिलो पटक यस्ता तालिममा सहभागी भएको अनुभव सुनाउँदै सिकेको सिप व्यवहारमा उतार्ने बताएका छन् ।