मध्यविन्दु(नवलपरासी), १३ जेठ
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् । मङ्गलवार बिहान ६ बजेको समयमा अम्रसा गाउँ वाट चोरमारा तर्फ आउँदै गरेको तीन जना सवार लु ९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो ।
दुर्घटनामा परि मध्यविन्दु नगरपालिका ७ चोरमारा बस्ने २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो । दुर्घटनामा परि नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका ५ घर भई मध्यविन्दु ७ बस्ने २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएको प्रहरी उपरीक्षक ढकालले जनकारी दिनु भयो ।
दुर्घटनामा परि सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ । टायल मार्बल सम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ ।