मध्यविन्दु (नवलपरासी), २३ जेठ
नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवास खोलामा बनाइएको वैकल्पिक बाटो शुक्रवार दिउँसो आएको बाढीले बगाइदिए पछि सडक दुवै तर्फी अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यात्रुवाहक सवारी साधन र साना सवारी साधनहरू होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी सञ्चालन गरिएको छ भने मालवाहक सवारी साधनहरू एक लेनमा रोकी व्यवस्थापन गरिएको छ । खोलामा पानीको बहाव घटे सँगै डाइभर्सन मर्मत कार्य सुरु हुने जनाइएको छ ।
गत २६ पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्कीवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । बुटवल नारायणगढ सडक आयोजनाले विनयी खोलामा नयाँ पुल निर्माण सम्पन्न भएसँगै वर्षा अगाडि नै पुल सञ्चालनमा आउने जनाएको छ ।
यता पूर्व पश्चिम राजमार्ग अन्तरगत नै मध्यविन्दु नगरपालिका–७ चोरमारामा भाँचिएको पुल शुक्रवार दिउँसो देखि सञ्चालनमा आएको छ । गत वैशाख २९ गते बिचबाट चर्किएको पुल मर्मत गरी आज देखि सञ्चालनमा ल्याइएको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बताउनु भयो ।