फेसबुकमा पछ्याउनुहोस्
कावासोती, २८ जेठ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं.४ का २५ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ।
वर्षौँदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा आफ्नो नाममा प्राप्त भएपछि धेरै खुसी लागेको अमृत विकले बताउनुभयो। ‘हजुरबुबाका पालादेखि बस्दै आएको जमिन आफ्नो नाममा थिएन, आज पहिलो पटक जमिनको मालिक हुँदा धेरै खुसी लागेको छ’ विकले भन्नुभयो।
‘आफू बसेको जमिन समेत आफ्नो नाममा नहुँदा धेरै पिर लाग्ने रहेछ, आजदेखि त्यो पिर हटेको छ’ कावासोती–४ की होमकुमारी परियारले भन्नुभयो ‘पुर्जा प्राप्त गर्दा धेरै खुसी लागेको छ, अब मेरो नाममा पनि माटो छ ।’
कावासोती नगरपालिकाले वडा नम्बर –४, बाट लालपुर्जा वितरणको कार्य सुरु गरेको हो। पुर्जा प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले पञ्चेबाजा बजाएर उत्सव मनाएका थिए। भूमिहीन दलित र सुकुम्वासीलाई पुर्जा वितरण गर्दै पूर्व सांसद तिलक महतले एमाले र काँग्रेसको संयुक्त सरकार बनेपछि जिल्लामा पहिलो पटक पुर्जा वितरणको काम सुरु भएको बताउनुभयो।
वर्षौँदेखि भूमिहीन भएर बस्दै आएकाहरूले अब आफ्नो अधिकार प्राप्त गर्न थालेको उल्लेख गर्दै, जिल्लामा अझ धेरैलाई पुर्जा वितरण गर्न बाँकी रहेकाले आयोगले काममा तीव्रता दिनुपर्ने उहाँले बताउनुभयो। भूमिहीनलाई जग्गाको मालिक बनाउने कार्यमा ढिलो गर्न नहुने र आफ्नो तहबाट आवश्यक सहयोग र समन्वय निरन्तर रहने उहाँले बताउनुभयो।
सरकारले पुर्जा वितरणमा देखिएको जटिलता हटाउँदै सजिलै भूमि सम्बन्धी समस्या समाधान गर्न प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो।
गण्डकी प्रदेशका पूर्व सांसद विष्णुप्रसाद लामिछानेले लालपुर्जा वितरण कार्यक्रममा बोल्दै आयोग र नगरपालिकाले कावासोतीबाट पुर्जा वितरण सुरु गरेर अन्य पालिकालाई समेत सन्देश दिएको बताउनुभयो। नगरपालिका र वडाहरूले सक्रिय नभएसम्म आयोग एक्लैले काम गर्न नसक्ने भएकाले कावासोती नगरपालिका र वडा नम्बर ४ ले सबैलाई काम छिटो गर्न प्रेरित गरेको उहाँको भनाइ थियो।
नगर प्रमुख विष्णुप्रसाद भुसालले वडा नम्बर ४ बाट सुरु गरिएको पुर्जा वितरण कार्यलाई क्रमशः वडा नम्बर ५ सहितका अन्य वडामा पनि भूमि समस्या समाधान आयोगसँगको समन्वयमा अगाडि बढाइने बताउनुभयो। लालपुर्जा वितरण प्रक्रियामा केही झन्झटिलो रहेकाले त्यसलाई सरल बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो ।
आयोगका जिल्ला अध्यक्ष तारापति खरेल र सदस्यसचिव नापी कार्यालय प्रमुख पूर्ण हरी सुवेदीले आयोगले स्थानीय तहसँग समन्वय गरी पुर्जा वितरणको कार्य अघि बढाइरहेको जानकारी दिनुभयो।
कावासोती नगरपालिका भित्र हालसम्म भूमिहीन दलित ६९७, भूमिहीन सुकुम्वासी १,२४० र अव्यवस्थित बसोबासी ५,५९६ जनाले फारम भरेको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो। पालिकाले आफ्नो स्तरबाट पुर्जा वितरणको लागि कार्यहरू क्रमशः अगाडी बढाउँदै लगेको उहाँले बताउनुभयो ।
नवलपरासी पूर्व ९नवलपुर० मा हालै गठन गरिएको भूमि समस्या समाधान आयोगले पहिलो पटक वडा नम्बर ४ बाट पुर्जा वितरण सुरु गरेको हो। यसअघि गठन गरिएको आयोगले जिल्लामा करिब तीन सय वटासम्म पुर्जा वितरण गरिसकेको आयोगका जिल्ला विज्ञ सदस्य होमनाथ जैसीले बताउनुभयो।
नवलपुरमा करिब ३५,००० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले फारम भरिसकेका छन्। जिल्लाका आठ पालिकामध्ये अधिकांशमा जग्गा नापीको काम सकिएको र अब क्रमशः स्थानीय तहको समन्वयमा पुर्जा वितरण अघि बढाइने जानकारी उहाँले दिनुभयो।
वडामा भूमिहीन बासिन्दालाई जग्गाको मालिक बनाउने कार्यमा वडा अध्यक्षका रूपमा सहजीकरण गर्न पाउँदा धेरै खुसी लागेको वडा अध्यक्ष नारायण प्रसाद लोहनीले बताउनुभयो। वडामा छिट्टै अव्यवस्थित बसोबासीलाई पनि पुर्जा वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।