हुप्सेकोट,३१ जेठ, नवलपरासी(बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि स्थानीय आर्थिक विकास सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आयोजित तीन दिने तालिममा स्थानीय तहमा आर्थिक स्रोतको पहिचान, उपयोग, लगानी प्रवर्द्धन, रोजगार सिर्जना तथा समावेशी विकासका रणनीति सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले बताउनु भयो ।
तालिममा गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डे, उपाध्यक्ष पूर्ण सिङ राना, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुली सहित वडाध्यक्षहरू, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रशिक्षणको क्रममा स्थानीय विकासमा साझेदारी, निजी क्षेत्रको भूमिका, सार्वजनिक निजी साझेदारी, कृषि, पर्यटन र लघु उद्यमको प्रवर्द्धन जस्ता विषयमा प्राविधिक प्रस्तुति तथा छलफल गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तालिमले स्थानीय विकासमा दीर्घकालीन सोच र कार्यदिशा तय गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले नीतिगत स्पष्टता र कार्यान्वयनमा दक्षता बढाउने बताउनुभयो।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले सहभागीहरूको उत्साह, जिज्ञासा र सहभागिता प्रशंसायोग्य रहेको उल्लेख गर्दै भविष्यमा अझ विस्तारित र क्षेत्रीय तालिमहरू सञ्चालन गरिने बताउनु भयो ।