मध्यविन्दु (नवलपरासी), ३ असार
नारायणगढ–बुटवल सडक खण्ड मङ्गलवार बिहान देखि अवरुद्ध भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवास खोलामा बनाइएको वैकल्पिक बाटो आज बिहान ४ः३० बजे आएको बाढीले बगाइदिए पछि सडक दुवै तर्फी अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यात्रुवाहक सवारी साधन र साना सवारी साधनहरू होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी सञ्चालन गरिएको छ भने मालवाहक सवारी साधनहरू एक लेनमा रोकी व्यवस्थापन गरिएको छ । खोलामा पानीको बहाव घटे सँगै डाइभर्सन मर्मत कार्य सुरु हुने जनाइएको छ ।
गत २६ पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्कीवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ ।