हुप्सेकोट, ५ असार ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको सातौँ गाउँ सभा अन्तर्गत पहिलो बैठकले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार सम्पन्न बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
गाउँभाको बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवद्र्धन, दिगो वातावरण संरक्षण, सूचना प्रविधिको प्रवद्र्धन तथा सामाजिक न्याय र समावेशितामार्फत समृद्ध गाउँपालिका निर्माणको खाका प्रस्तुत गरिएको छ ।
सभामा गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकासको वर्तमान उपलब्धिहरूलाई संस्थागत गर्दै आगामी वर्षको कार्य योजनालाई प्राथमिकताको आधारमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो ।सुन्दर, सुखी र उद्यमी हुप्सेकोट को परिकल्पना कार्यान्वयन गर्न हुप्सेकोट गाउँपालिकाको मार्गचित्रको रूपमा नीति तथा कार्यक्रम परिलक्षित रहेको अध्यक्ष पाण्डेले बताउनु भयो । “हुप्सेकोट गाउँपालिकाको प्रथम पञ्चवर्षीय योजनामा तय गरेको दीर्घकालीन सोच खानेपानी, कृषि, पर्यटन र पूर्वाधारः हुप्सेकोट विकासको दिगो आधार बमोजिम उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जना र नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सहकारी एवं निजी क्षेत्र समेतको साझेदारीमा सुन्दर सुखी र उद्यमी हुप्सेकोट निर्माणको आधार तय गरिनेछ”,अध्यक्ष पाण्डेले भन्नु भयो ।
कृषि क्षेत्रको विकासका लागि बाली विशेष कार्यक्रम, एक वडा एक उत्पादन कार्यक्रम , एक खेती बहु आय नीति जस्ता नयाँ कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । त्यसै गरी उद्यमी बनौँ, गाउँमा केही गरौँ भन्ने अभियान, ज्ञान अनुसारको सीप र सीप अनुसारको ज्ञानमा आधारित कार्यक्रम, युवाहरूमा उद्यमशीलता प्रवद्र्धन गर्न चौतारी भलाकुसारी कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पाण्डेले बताउनु भयो ।
७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक तथा अशक्त, अपाङ्गलाई घरमै गई नियमित स्वास्थ्य परीक्षण गर्नका लागि सन्चै हुनुहुन्छ? कार्यक्रम सञ्चालन गरिने भएको छ ।
वि.सं.२०८७ भित्र पोषण मैत्री गाउँपालिका घोषणा गर्नका लागि पोषण स्तरमा सुधार ल्याउन पोषणमैत्री कार्यक्रमहरूलाई प्राथमिकता दिइने नीति लिइएको छ ।
२०८२ साललाई बालबालिका वर्षको रूपमा कार्य गरिने भएको छ । त्यसै गरी आगामी आर्थिक वर्षमा वडा नं.१ र ३ लाई बालमैत्री वडा घोषणा गर्दै अन्य वडाहरूमा समेत बालमैत्री स्थानीय शासनका संरचनाहरू तयार गरिने गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो । विद्यालय स्तरमा पढाइ सँगै सीप विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ भने पठन संस्कृतिको विकास गरी शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक र विद्यार्थीमा सिक्न र सिकाउनका लागि पढौँ भन्ने अभियान सञ्चालन गरिने भएको छ ।
महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरिने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरको छाना मुक्त गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । हुप्सेकोटको सान, टोल सरसफाइ अभियान अन्तर्गत गाउँपालिकामा रहेका टोल विकास संस्थालाई सक्रिय बनाई फोहोर मुक्त गाउँपालिका बनाउन पहल गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
स्थानीय बासिन्दामा घरै बसी तिरौँ कर, समृद्ध हुप्सेकोट हाम्रै भर भन्ने भावना जागृत गराई मोबाइलको माध्यमबाट सूत्र मा आधारित प्रणाली मार्फत कर तिर्ने व्यवस्था मिलाइने भएको छ ।
गाउँ सभामा हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिङ राना, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुली सहित वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरूको उपस्थिति रहेको थियो।
गाउँभाको आगामी असार १० गते बस्ने अर्को बैठकहरूमा बजेट तथा विनियोजन सम्बन्धी प्रस्तावहरूमा छलफल हुने कार्यसूची रहेको गाउँपालिकाले जनाएको छ ।