विनयी त्रिवेणी,५ असार, गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने नवप्रवर्तन साझेदारी कोष अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको परियोजना प्रस्ताव स्वीकृत भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार स्थानीय तहबाट आएका परियोजना प्रस्तावहरू मध्य वाट विनयी त्रिवेणीको प्रस्ताव कार्यान्वयन चरणका लागि स्वीकृत गरेको हो ।
२०७८ सालको निर्देशिका र २०८१/३/४ मा प्रकाशित सूचना अनुसार, प्राप्त प्रस्तावहरू मध्ये उत्कृष्ट ठहरिएका विनयी त्रिवेणी गाउँपालिका सहितका चार प्रस्तावलाई नवप्रवर्तन साझेदारी कोष अन्तर्गत स्वीकृति प्रदान गरिएको हो ।
विनयी त्रिवेणी गाउँपालिकाले सिकाइ परियोजना सञ्चालन सम्बन्धी प्रस्ताव पेस गरेकोमा कार्यान्वयनका लागि स्वीकृत भएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो । विद्यालय स्तरमा सिकाइ गुणस्तर अभिवृद्धि गर्ने उद्देश्य सहित उक्त परियोजना अगाडि सारिएको अध्यक्ष गिरीले बताउनु भयो ।
“गाउँपालिका भित्रका सातै वार्ड को १/१ वटा मा.वि. विद्यालय गरि कुल ७ वटा मा .वि. लाई प्रबिधिमैत्री बनाउने उद्देश्यले पेश गरेको प्रस्ताव गण्डकी प्रदेश को १ नम्बरमा छनौट भएको छ”,अध्यक्ष गिरीले भन्नु भयो,“जसको कुल बजेट दुई करोड पन्ध्र लाख रहेको छ ।”
गण्डकी प्रदेशको नवप्रवर्तनशील सोच र प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि यी परियोजनाहरूले उदाहरणीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।