मध्यविन्दु (नवलपरासी), ६ असार ,
पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा फसेका बसका यात्रुहरूको उद्धार गरिएको छ । बस भने खोलले बगाएको छ ।
काठमाडौँ बाट नेपालगन्ज जाँदै गरेको भे १ ख४०८५ नं.को यात्रुवाहक बस विनयी त्रिवेणी गाउँपालिका १ विनयी खोलाको डाइभर्सन सँगै केही तल बगेकोमा राति साढे २ बजे यात्रुहरूको उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार विनयी खोलामा एक्कासि खोलाको बढीले डाइभर्सन बगाउँदा बिच भागमा २४ जना यात्रु सहितको बस फसेको थियो । उक्त बसका यात्रुहरूलाई प्रहरी,जेसिभि र क्रेनको सहायताले उद्धार गरिएको प्रहरी उपरीक्षक ढकालले बताउनु भयो । बस भने विनयी खोलाले बगाएको छ ।
दुम्कीवास पुल भाँचिए पछि डाइभर्सन बनाएर सञ्चालन गरिएको बाटो गत दुई दिन देखि अवरुद्ध भइरहेको छ । खोलामा बाडी आउँदा डाइभर्सन बगाएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । बिहीबार साँझ एक तर्फी खुलेको डाइभर्सन राति फेरी बाढी आए पछि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले बताउनु भयो ।