२०८२ अषाढ २३, सोमबार

विनयी खोलामा डाइभर्सन नबनाइने, मालवाहक सवारी फर्कन अनुरोध

  • निष्कर्ष
  • २०८२ अषाढ ७, शनिबार
विनयी खोलामा डाइभर्सन नबनाइने, मालवाहक सवारी फर्कन अनुरोध

विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी), ७ असार,(रासस)
बुटवल–नारायणगढ सडक खण्ड अन्तरगत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ । गत पुस २६ गते दुम्कीवास पुल भाँचिए पछि डाइभर्सन मार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थाले पछि अव डाइभर्सन निर्माण नगरिने भएको हो ।
गत बिहीबार राति विनयी खोलामा डाइभर्सन वाट जाँदै गरेको बस नै खोलाले बगाए पछि पुनः डाइभर्सन निर्माण नगरिने निर्णय गरिएको नवलपरासी(बदघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनु भयो । जेठ को अन्तिम हप्ता देखि लगातार वर्षा भई रहेकाले पटक पटक डाइभर्सन बगाउने समस्या बढे पछि सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।
“जिल्ला स्थित सरोकारवालाको बैठक वाट खोलाको डाइभर्सनमा थप जोखिम बढेकाले अव नयाँ बन्दै गरेको पुल नै छिटो सञ्चालन गर्ने गरी पर्खने निर्णय गरिएको छ”,उहाँले भन्नु भयो,“दुम्कीवास पुल असार १६ गते वाट सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ त्यसैले त्यो समय सम्म वैकल्पिक सडक नै प्रयोग गर्नु पर्ने हुन्छ ।”


यस सडक खण्ड अन्तर्गत दुम्कीवास पुलको विकल्पको रूपमा हलुका सवारीलाई होङ्सी सिमेन्ट गेट हुँदै सर्दी वाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गरिएको छ । तर मालवाहक सवारी साधनहरू पूर्ण रूपमा रोकिएको छ । वर्षा सुरु भए सँगै दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा सवारी गुड्न नसकेकाले त्यो क्षेत्रमा पनि अवरोध कायम रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।
“दाउन्ने खण्डमा वर्षाका कारण भने अहिलेको अवस्थामा सवारी चलाउन सकिदैन् , त्यसलाई मर्मत गर्नु पर्छ, मर्मत कार्य यथाशीघ्र अगाडि बढाउनु पर्छ ,अन्यथा अहिलेको अवस्थामा ठुला सवारी साधन यो बाटो चलाउन सकिँदैन”,उहाँले भन्नु भयो,“रातिको समयमा ठुला साना कुनै पनि सवारी साधन चलाउन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छौ । यो दाउन्ने सडक मर्मत भए पछि र पुल सञ्चालनमा भए पछि मात्रै पूर्ववत् रूपमा सवारी चलाउन सकिन्छ भन्ने हाम्रो छलफल वाट निस्किएको निष्कर्ष हो । यही निर्णय हामीले माथिल्लो निकायमा पठाएका छौ । ”
यस सडक खण्डमा विगत पाँच दिन देखि मालवाहक सवारी साधनहरू बिच बाटोमा रोकिएका छन् । पूर्व वाट पश्चिम तर्फ जाँदै गरेका सवारी विनयी खोलाका कारण रोकिएका छन् भने पश्चिम वाट पूर्व तर्फ हिँडेका सवारी दाउन्ने पहाडमा रोकिएका छन् । अहिलेको अवस्थामा मालवाहक सवारी चलाउन सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पार्नु भयो ।
“मालवाहक सवारीसाधनहरू अहिलेकै अवस्थामा कटाउन सक्ने अवस्था छैन, उहाँहरूलाई फर्किएर वैकल्पिक बाटो प्रयोग गर्नुस् भन्ने हो, सकियो भने यो पुल खोले पछि मात्र चलाउन सक्ने अवस्था छ, अहिलेकै अवस्थामा यहाँ वाट पास गराउने अवस्था छैन”,उहाँले भन्नु भयो,“छिटो मर्मत गर्न सकियो भने हप्ता दिन पछि सम्भव होला, तर पनि खोलामा पानी घटने अवस्था छैन । ट्रकका चालकलाई के अनुरोध गर्दछौ भने अहिले फर्कनुस् बाटो पूर्णरुपमा मर्मत भए पछि मात्र प्रयोग गर्नुस् ।”
देशकै प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सृजना भएका छन् । निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापरबाहीले समस्या चर्किएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो ।
२०७५ सालदेखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस