विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), ९ असार
बुटवल–नारायणगढ सडक खण्ड अन्तरगत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचिए पछि डाइभर्सन वाट यातायात सञ्चालन गरिएकोमा डाइभर्सन पनि बगाए पछि वैकल्पिक मार्ग वाट सवारी पास गराइएकोमा आज बिहान देखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका–३ स्थित खरङ्गे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि उक्त वैकल्पिक मार्ग समेत पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो । अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि प्रकारका सवारी साधनहरू आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ ।
निरन्तरको वर्षासँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि बगाएको थियो । डाइभर्सन बगाएपछि होल्डमा राखिएका साना तथा मध्यम (१२ चक्के सम्म) सवारी साधनहरूलाई वैकल्पिक भित्री मार्ग हुँदै— होङ्सी गेट, सर्दी र ज्यामिरे राजमार्ग प्रयोग गरी आवतजावत गराइँदै आएको थियो । त्यो मार्ग पनि अवरोध भए पछि अहिले यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरी उपरीक्षक ढकालले बताउनु भयो ।
वर्षासँगै नदी तथा खोलामा आएको बहाव र अस्थायी डाइभर्सनको भरपर्दो व्यवस्था नहुँदा यात्रुहरूलाई कठिनाइ हुँदै आएको छ ।