२०८२ मंसिर २९, सोमबार

हुप्सेकोटका कृषक तिवारी ‘राष्ट्रिय उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित

  • निष्कर्ष
  • २०८२ अषाढ ११, बुधबार
हुप्सेकोटका कृषक तिवारी ‘राष्ट्रिय उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित
दिपेन्द्र रेग्मी, असार ११, कावासोती ।
“मिहिनेत गर्ने हातहरूलाई राष्ट्रले पनि सम्मान गर्दो रहेछ”, यो भनाई हो हुप्सेकोटका कृषक बाटुली तिवारीको ।
नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं।४ मा रहेको मित्र वाटिका कृषि फर्मका सञ्चालक बाटुली तिवारी राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा असार १० गते आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेश वाट दुई जना किसानलाई यो पुरस्कार प्रदान गर्नुभएको थियो ।
देशभरका उत्कृष्ट १४ कृषक मध्य हुप्सेकोट ४ शङ्खदेवकी कृषक तिवारी पनि पर्न सफल हुनुभएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा स्वीकृत ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकको रूपमा छानिएर आएका १४ जना किसानलाई कृषि क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रत्येक कृषकलाई दुई लाख नगद सहित सम्मान गरिएको हो ।
‘राष्ट्रिय उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित हुनुभएकी तिवारीले विगत लामो समयदेखि परम्परागत कृषि पेसा गर्दै आइरहेकोमा पछिल्लो समय विसं।सं २०७० सालदेखि मित्र बाटिका कृषि फर्म दर्ता गरी केही आधुनिक प्रविधिहरूबाट व्यावसायिक कृषिलाई नै अङ्गालेको बताउनुभएको छ ।
तिवारीले भन्नुभयो:“पहिले त उही पुरानै तरिकाबाट खेतीपाती गर्थ्यौ, श्रीमानले जागिर छोडेपछि चैँ परिवार सबैले कृषिलाई नै व्यवसाय बनायौँ ।”
उहाँले राष्ट्रपतिबाट पुरस्कृत हुँदाको क्षण आफ्नो झन्डै ५ दशक लामो जिन्दगीकै सबैभन्दा खुसीको क्षण भएको भन्दै “मिहिनेत गर्ने हातहरूलाई राष्ट्रले पनि सम्मान गर्दो रहेछ” भन्ने अनुभूति भएको सुनाउनुभयो ।
२०५६,०५७ साल देखि नै विभिन्न नगदेवालिहरु जस्तैःकेरा खेती, घ्युकुमारी खेती गर्दै आएकोमा २०७० सालमा फर्म दर्ता गरेर व्यावसायिक रूपमा घ्युकुमारी खेतीबाटै सुरुवात गरेको मित्र वाटिका कृषि फर्मका व्यवस्थापक समेत रहनुभएका बाटुली तिवारीका श्रीमान् मित्रलाल तिवारीले बताउनुभयो ।
उहाँले केराखेरिबाट राम्रो आम्दानी गरेको भए पनि घ्युकुमारीबाट भने सोँचेअनुरुप सफलता नपाएको गुनासो गर्नुभयो ।
“उत्पादन त ठिकै भा थ्यो, घ्युकुमारीको बजारीकरण गर्न वा त्यसको खरिदकर्ता सम्म पुग्न नसक्दा समस्या भयो ।” उहाँको भनाई छ ।
२०७६ सालमा शिक्षकको जागिरबाट निवृत्त भएपछि पछि भने व्यावसायिक  तरकारी खेती सहित बिउँ उत्पादनमा लागेको व्यवस्थापक तिवारीले बताउनुभयो । उहाँले गत वर्ष मात्रै सुरु गरेको बीज वृद्धि कार्यक्रमबाट सवा क्विन्टल अर्थात् झन्डै १८ लाख मूल्य बराबरको काँक्राको बिउँ र झन्डै १२ लाखको काँक्रा बेच्न सफल भएको सुनाउनुभयो ।
त्यस्तै गत वर्ष नै ६ लाख बराबरको घ्यु सिमी, ४ लाख भन्दा बढीको बोडी र अन्य तरकारी गरी ४० लाख भन्दा बढीको कृषि उत्पादन बिक्री वितरण गरेको भन्दै सबै खर्च कटाएर ९ लाख भन्दा बढी आम्दानी भएको बताउनुभयो ।
कृषि फर्मका व्यवस्थापक तिवारीले अहिले ३ बिगाहा क्षेत्रफलमा तरकारी खेती र डेढ बिगाहा क्षेत्रफलमा मौसमी वालि अर्थात् धान, गहुँ, मकै लगायतको खेरिगर्दै आएको बताउनुभएको छ ।
सङ्खदेव बहुउद्देश्यीय  कृषि समूहका अध्यक्ष एवं राष्ट्रिय कृषक महासङ्घ हुप्सेकोटको समेत अध्यक्ष रहनु भएका तिवारीले समूह मार्फत पनि गत वर्ष २४ बिगाहा क्षेत्रफलमा गहुँ उत्पादन गरेको बताउनुभयो ।
उहाँले विएससि डबल एम ए गरेर शिक्षण पेसामै लागेको जेठो छोरा र बिए पढेर युके गएर आएको कान्छो छोरा सहित एमए पढेकी बुहारी समेत अहिले गाउँमै कृषि पेसा मै रमाई रहेको भन्दै ३४ वर्षको शिक्षण पेसामा पनि नमिलेको सम्मान कृषि पेसाबाट पाएको बताउनुभयो ।
शिक्षण पेसाबाट अवकाश हुँदै गर्दा प्राप्त गरेको २९ लाख रुपियाँ सबै जग्गामा लगानी गरेर श्रीमती बाटुली तिवारीको नामबाट मित्र बाटिका कृषि फर्म सुरु गरेकोमा, अहिले परिवार बाहेक पनि विभिन्न समयमा गरी सरदरमा ९,१० जनाले रोजगारी प्राप्त गरेको उहाँको भनाई छ ।
कृषि ज्ञान केन्द्रबाट समेत काँक्रो र घ्युसिमिको बीज वृद्धि कालागि ३ लाख र १ लाख गरी ४ लाख अनुदान समेत प्राप्त गरेको भन्दै तिवारीले प्रधानमन्त्री कृषि आधुनिकीकरणबाट समेत गत वर्ष १७ हजार, हुप्सेकोट गाउँपालिकाबाट मागमा आधारित २५ हजारको साथै उद्यमशील हुप्सेकोट लगायत समग्रमा कृषि ज्ञान केन्द्र, स्थानीय पालिका र सरकारले कृषि फर्मलाई राम्रो सहयोग गरिरहेको बताउनुभएको छ ।
गत वर्ष २०८०,८१मा समेत शङ्खदेवबाट सबैभन्दा धेरै तरकारी उत्पादन गरी बिक्री गरेर गण्डकी प्रदेशकै उत्कृष्ट कृषकको रूपमा सम्मान पाई सकेको तिवारीले बताउनुभयो । उहाँले अहिले ६ कट्ठा जग्गामा भ्रमी मल९गँड्यौला मल० बनाउँदै गरेको भन्दै आगामी वर्षदेखि गाई पालनसमेत सुरु गरी भ्रमी मल र प्राङ्गारिक मलबाट मात्रै कृषि गर्ने योजनामा आँफुहरु रहेको बताउनुभएको छ ।
राष्ट्रपतिबाट कृषि फर्म सञ्चालिकाको रूपमा श्रीमती पुरस्कृत हुँदा यो भन्दा ठुलो सम्मान अरू केही नहुने आँफुले महसुस गरेको भन्दै तिवारीले अब हुप्सेकोटको सङ्खदेव मात्र नभई पालिकाका सम्पूर्ण कृषकलाई अर्ग्यानिक कृषि उत्पादनमा जोड्ने उद्देश्य रहेको बताउनुभयो ।
उहाँले कृषहरुद्धारा उत्पादित वस्तु काठमाडौँ नै पुर्‍याउनुपर्ने बाध्यात्मक अवस्थाले विभिन्न समस्याहरू सिर्जित हुने गरेको भन्दै सकेसम्म स्थानीय पालिकाले नै उत्पादित वस्तुको बजारीकरण एवं भण्डारण कालागि योजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस