-अविनाश पन्थी
पुनर्भरण पोखरी (Recharge Pond) भनेको वर्षाको पानी, खोलाको बहाव वा अन्य सतहमा बगेको पानीलाई जम्मा गर्ने र बिस्तारै जमिनमुनि पठाउने उद्देश्यले बनाइएको संरचना हो।पानीका स्रोत सुख्खा क्रममा रहेका स्थानमा स्रोत थप र जमिनमुनीको पानीको उपलब्धता सुनिश्चित गर्न पुनर्भरण पोखरी (Recharge Pond) निर्माण एक महत्त्वपूर्ण उपाय हो।यसले पानीलाई जमिनको भित्री तहमा सोस्न मद्दत गर्छ। जसले गर्दा भूमिगत जल भण्डार (Groundwater Aquifer) को सतह बढ्छ।जलवायु परिवर्तनका कारण वर्षा अनियमित हुँदै गएको र पानीका मुहानहरू सुक्दै गएको अवस्थामा यसको महत्त्व अझ बढेको छ।
पुनर्भरण पोखरीको महत्त्व धेरै पक्षबाट देख्न सकिन्छ।वर्षाको पानीलाई सिधै जमिनमुनि पठाएर यसले भूमिगत जलस्तरलाई माथि उठाउन मद्दत गर्छ।यसले गर्दा इनार, कुवा र प्राकृतिक मुहानहरूमा पानीको उपलब्धता बढ्छ। जमिनमुनि संकलन भएको पानी सुख्खा याममा सिँचाइका लागि प्रयोग गर्न सकिन्छ।यसले गर्दा किसानहरूलाई बाली लगाउन र उत्पादन बढाउन मद्दत पुग्छ। जसले खाद्य सुरक्षामा योगदान दिन्छ। यसले पानीको अपव्ययलाई रोक्छ र जलस्रोतको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्छ।
वर्षाको पानी खेर जानबाट बचाएर भविष्यका लागि पानीको भण्डार सुरक्षित राख्छ।वर्षाको तीव्र बहावलाई पोखरीमा जम्मा गर्दा माटोको क्षय (Soil Erosion) र भू-क्षयलाई कम गर्न मद्दत गर्छ। पोखरीहरूले स्थानीय जैविक विविधता (Biodiversity) लाई पनि टेवा पुर्याउँछ।यसले विभिन्न जीवजन्तु र चराचुरुङ्गीका लागि वासस्थान प्रदान गर्न सक्छ। जलवायु परिवर्तनका कारण पानीको स्रोतमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न पुनर्भरण पोखरी एक प्रभावकारी अनुकूलन रणनीति हो।यसले पानीको कमीको समस्यालाई सम्बोधन गर्न मद्दत गर्छ।यस्ता पोखरी निर्माणमा स्थानीय समुदायको सहभागिता महत्त्वपूर्ण हुन्छ।परम्परागत रूपमा प्रयोग हुने पोखरी र सिमसार क्षेत्रहरूको पुनर्उत्थान गरी स्थानीय ज्ञानलाई सदुपयोग गर्न सकिन्छ। नेपालको चुरे क्षेत्र र मध्यपहाडी क्षेत्रमा पानीका मुहान सुक्ने समस्या बढ्दै गएकोले पुनर्भरण पोखरी निर्माणको आवश्यकता अझ बढी छ।यस्ता पोखरीहरूले पानीको संकट टार्न र कृषिलाई दिगो बनाउन ठूलो सहयोग पुर्याउन सक्छन्।
पुनर्भरण पोखरी (Recharge Pond) को वातावरणीय महत्त्व अझै बहुआयामिक छ।यसले केवल पानीको व्यवस्थापनमा मात्र सहयोग पुर्याउँदैन, बरु समग्र पारिस्थितिक प्रणाली र वातावरणीय सन्तुलन कायम राख्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। पानीको ठूलो स्रोत भएको पोखरीले स्थानीय क्षेत्रको सूक्ष्म जलवायु (Microclimate) मा सकारात्मक प्रभाव पार्न सक्छ।यसले वरपरको हावामा आर्द्रता बढाउन मद्दत गर्छ, जसले गर्दा तापक्रम केही हदसम्म कम हुन सक्छ।यसले सुख्खापनलाई कम गर्न र वनस्पति विकासका लागि अनुकूल वातावरण सिर्जना गर्न सक्छ। भारी वर्षा हुँदा बाढीको जोखिम कम गर्न पुनर्भरण पोखरीले महत्त्वपूर्ण भूमिका खेल्छ।यसले अतिरिक्त पानीलाई भण्डारण गरी नियन्त्रित तरिकाले जमिनमा सोस्ने काम गर्छ, जसले गर्दा तल्लो तटीय क्षेत्रमा बाढीको प्रकोप (Flood Control) कम हुन्छ।
यसरी पुनर्भरण पोखरीले पानी व्यवस्थापनका साथै पारिस्थितिक प्रणालीलाई सुदृढ पार्ने, जैविक विविधतालाई जोगाउने र प्राकृतिक विपद्को जोखिम कम गर्ने जस्ता वातावरणीय महत्त्व बोकेको हुन्छ।हाम्रो जस्तो जल सतहको तह घट्दो क्रममा रहेको, सुख्खा याममा सिंचाई समस्या हुने र पानीको चुहावट (Seepage) धेरै हुने क्षेत्रमा यसको अझ बढी महत्व रहेको छ।
(लेखक नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकामा वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ)