कावासोती ,नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–६ विष्णुनगरमा महिलाहरुका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ । विष्णुनगर सामुदायिक वन उपभोक्ता समूहको आयोजना र महिला जागरण संस्था कावासोती–६ विष्णुनगरको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा कावासोती–६ का वडा अध्यक्ष यम बहादुर थापा, विष्णुनगर सामुदायिक वन उपभोक्ता समूहकी सचिव कुन्तीकला अधिकारी र महिला जागरण संस्थाकी अध्यक्ष रमा सापकोटाले महिलाहरुको नेतृत्व क्षमताको विकास आवश्यक रहेको बताउँदै महिलाको सशक्त सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कावासोती वडा नं. ६ भित्रका विभिन्न टोल र समुदायबाट करिब ५० जना महिलाहरुको सहभागिता रहेको छ । सहभागी महिलाहरुलाई नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा महिलाको भूमिका, दिगो विकासका लागि महिला सहभागिता, आत्मविश्वास अभिवृद्धि तथा व्यवहारिक जीवनमा नेतृत्व कसरी लिन सकिन्छ भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक सत्रहरु संचालन गरिएको प्रशिक्षक विष्णु गौडेलले बताउनु भयो ।
कार्यक्रमले महिलाहरुमा आत्मविश्वास बढाउन, सामाजिक नेतृत्वदायी भूमिकामा अगाडि बढ्न प्रेरणा दिएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।
