कावासोती,
कावासोती नगरपालिकाको आयोजनामा नगर तथा वडा स्तरका बाल सञ्जाल पदाधिकारीहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
बाल अधिकार प्रवर्द्धन, बालमैत्री स्थानीय शासनको सुदृढीकरण, र बालबालिकाको नेतृत्व विकासमा योगदान पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको कावासोती नगरका बालमैत्री सम्पर्क व्यक्ति रिता रिजालले बताउनुभयो ।
कार्यक्रमका मुख्य उद्देश्यहरूमा बाल सञ्जालका पदाधिकारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नु, बालमैत्री स्थानीय शासनको अवधारणाबारे स्पष्ट जानकारी प्रदान गर्नु, बाल क्लब, समूहहरूले गर्न सक्ने र गर्नुपर्ने कार्यको बारेमा जानकारी प्रदान गर्न एवम् बाल अधिकार र नैतिक शिक्षाको विषयमा चेतना अभिवृद्धि गर्न रहेको थियो।
कार्यक्रममा सहजीकरण गर्दै बाल अधिकारकर्मी खिमानन्द भुसालले बालबालिकाहरूले आफ्नो भूमिका र जिम्मेवारीलाई आत्मसात् गर्दै अनुशासन र नैतिकता पूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बाल सञ्जालमार्फत बालबालिकाहरू सामाजिक रूपान्तरणको अगुवा बन्न सक्ने उल्लेख गर्नुभयो।
त्यस्तै बालअधिकारकर्मी दिपक शर्माले “बाल अधिकार र बालमैत्री स्थानीय शासन” शीर्षकमा सहजीकरण गर्दै बालबालिकाको अधिकार सुनिश्चित गर्न सबै तहमा संस्थागत व्यवस्था र सहभागी निर्णय प्रक्रियाको आवश्यकता रहेको बताए। उहाँले बालमैत्री बजेट, बाल संलग्न नीति निर्माण र पालना अनुगमनमा बाल समूहको सक्रियता अपरिहार्य रहेको बताए।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला राज पौडेलले नेतृत्व विकासको महत्त्व र प्रभावबारे प्रकाश पार्दै बालबालिकाले आफैँभित्रको नेतृत्व क्षमता पहिचान गरेर सामाजिक रूपान्तरणमा योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पालिकाले बालमैत्री योजना तथा कार्यक्रममार्फत बालबालिकाको क्षमता अभिवृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
आजको कार्यक्रमबाट बालबालिकाले नेतृत्व विकास, सार्वजनिक बोल्ने कला, सामूहिक निर्णय, कार्यक्रम आयोजना र अनुगमन सम्बन्धी सीप सिकेको नगर बाल सञ्जालका अध्यक्ष एलिशा पन्थीले बताउनुभयो ।
कार्यक्रमले कावासोती नगरपालिकाको बालमैत्री शासन अभ्यासलाई सुदृढ पार्दै बालबालिकालाई सशक्त बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउनेमा सहभागीले भनाई राखेका थिए । आगामी दिनमा यस्ता अभिमुखीकरण कार्यक्रम निरन्तर आयोजना गर्दै बाल सञ्जाललाई अझ सशक्त बनाउने बाल सञ्जाल पालिकाको तयारी रहेको महिला बालबालिका शाखाकी सुभद्रा शर्माले बताउनुभयो ।
कार्यक्रम कावासोती नगर बाल सञ्जालकी अध्यक्ष एलिशा पन्थीको अध्यक्षतामा सञ्चालन भएको थियो भने सचिव आशिष श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा कावासोती नगरका १७ वटा वडाबाट सहभागी भएका बाल सञ्जाल पदाधिकारीसहित ७० भन्दा बढी बालबालिकाहरूको सक्रिय सहभागिता रहेको थियो