मध्यविन्दु (नवलपरासी), १५ असार
बुटवल–नारायणगढ सडक खण्ड अन्तरगत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आए पछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका १ स्थित विनयी खोलामा मालवाहक सवारी साधनहरूको लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुवाहक बसहरूको लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडक मार्ग मा बाढी आए पछि अहिले यातायात पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो । अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारी साधनहरूलाई सुरक्षित स्थानमा राखिएको प्रहरी उपरीक्षक ढकालले बताउनु भयो ।
विनयी त्रिवेणी गाउँपालिका–३ स्थित खरङ्गे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि उक्त वैकल्पिक मार्ग समेत पूर्ण रूपमा अवरुद्ध बनेको हो । अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि प्रकारका सवारी साधनहरू आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ ।
निरन्तरको वर्षासँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि पटक पटक बगाउने गरेको छ ।