मध्यविन्दु(नवलपरासी), २५ असार
नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्रको खुर्सानी खोला नजिकै पहिरोले सडक बगाए पछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका २ स्थित खुर्सानी खोलामा गए राति देखि परेको वर्षाले राजमार्ग नै बगाएकाले बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो ।
“अविरल वर्षासँगै सडकको केही भाग कटान हुँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको हो”,उहाँले भन्नु भयो,“यथासम्भव चाँडै मर्मत तथा पुनः निर्माण कार्य सुरु गर्ने तयारी गरिएको छ ।”
नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्र पूर्ण रूपमा अवरुद्ध रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरिएको छ भने जोखिम क्षेत्रमा नजान पनि आग्रह गरिएको छ ।
सडक सञ्चालनमा आउन कति समय लाग्ने भन्ने यकिन नभए पनि प्राविधिक टोलीले क्षतिको आङ्कलन गरिरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनु भयो ।
सडक अवरुद्ध भए पछि अहिले सयौँ सवारी साधनहरू बिच बाटोमा अलपत्र परेका छन् ।