विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), २ साउन,(रासस)
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा गत आर्थिक वर्षमा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ । आ.व.२०८१–८२ मा जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रमुख डा.शर्मिला कुमालले बताउनु भयो ।
जिल्लाको जनसङ्ख्याका आधारमा दूध आवश्यकता भन्दा बढी उत्पादन भई जिल्ला बाहिर निर्यात हुने गरेको छ । उत्पादन भएको दूधको तथ्याङ्कका आधारमा नवलपरासी(बर्दघाट सुस्ता पूर्व) विगत तीन वर्ष देखि आत्मनिर्भर रहेको प्रमुख कुमालले बताउनु भयो ।
“विश्व स्वास्थ्य सङ्गठनले विकास उन्मुख राष्ट्रका लागि एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक जना व्यक्तिका लागि एक सय ३२ लिटर दूध पुग्ने गरी उत्पादन रहेको छ”,उहाँले भन्नु भयो,“आर्थिक वर्ष २०८१÷८२ मा नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा उत्पादन भएको दूधको आधारमा यहाँको कुल जनसङ्ख्यालाई एक व्यक्ति बरावर एक सय ३२ लिटर दूध पुग्ने देखिन्छ ।”
गत आ.व.मा जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ । यस मध्य गाईको दूध ३२ हजार तीन सय ५३ मेट्रिक टन रहेको छ भने भैँसीको दूध १७ हजार छ सय ६० मेट्रिक टन रहेको तथ्याङ्कमा देखिएको छ ।

जिल्लामा खपत भएर बाँकी रहेको दूध काठमाडौँ, पोखरा र चितवन निकासा हुने गरेको प्रमुख कुमालले बताउनु भयो । जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षको उत्पादन अनुपात तुलना गर्दा गत आ.व.मा दूध उत्पादनमा कमी आएको छ ।
“आ.व.०७८/७९ मा ६१ हजार छ सय ६४ मेट्रिक टन दूध उत्पादन भएकोमा आ.व ०७९/८० मा थप वृद्धि भई ६२ हजार चार सय ४६ मेट्रिक टन उत्पादन भएको थियो । तर गत आ.व. ०८०/८१ मा विगतको भन्दा घटेर जम्मा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको छ थियो । गत आ.व.मा अझ घटेर ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ”,उहाँले भन्नु भयो ।

जिल्लाको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष गाई भैँसी फार्म र गाई भैँसीको सङ्ख्या समेत घट्दो क्रममा रहेको छ । आ.व ०७९/८० मा गाई को सङ्ख्या ४१ हजार चार सय ८९, भैँसीको सङ्ख्या ४८ हजार आठ सय ५४ रहेको थियो भने आ.व. ०८०/८१ मा गाई को सङ्ख्या ३७ हजार एक सय ९८ र भैँसीको सङ्ख्या ४३ हजार नौ सय ५० रहेको देखिन्छ ।
गत आ.व.मा गाई को सङ्ख्या ३२ हजार आठ सय ९७ रहेको छ भने भैँसी को सङ्ख्या ३८ हजार आठ सय ९६ रहेको छ । यसरी तीन वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष सरदर चार हजारको दरले गाईको सङ्ख्या घट्दो रहेको देखिन्छ भने पाँच हजारको दरले भैँसीको सङ्ख्या जिल्लामा घट्दो क्रममा रहेको देखिन्छ ।