विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी), ४ साउन,(रासस)
बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्र एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गते देखि २०८२ असार ३२ गते सम्म ६३ पटक अवरुद्ध भएको हो ।
पछिल्लो एक वर्षको अवधिमा ६३ पटक यो सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रमुख जनक बन्जाराले बताउनु भयो ।
“यीमध्ये अधिकांश घटना भारी वर्षासँगै आएको पहिरो वा खसेको माटोले सडक अवरुद्ध हुँदा भएका थिए”,उहाँले भन्नु भयो,“यस्तै, सडक मर्मतको क्रममा ठुला मेसिनरी सामग्री जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि घण्टौँसम्म बाटो थुनिएको देखिन्छ ।”
दाउन्ने क्षेत्रको पनि विश्वकर्मा मन्दिर, घ्यु खोला, त्रियासी मोड लगायतका क्षेत्रमा दर्जनौँ पटक सडक अवरुद्ध भएको पाइएको छ । बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरे सँगै सडक अवरुद्ध हुने क्रम बढेको थियो । जम्मा १४ किलोमिटर दुरी रहेको दाउन्ने क्षेत्रमा गत आर्थिक वर्ष विगतको भन्दा धेरै पटक सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बन्जाराले बताउनु भयो ।
“वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटानका कारण र घाम लागेका दिनहरूमा खाल्डाखुल्डी र धुलोले गर्दा दाउन्ने क्षेत्र सधैंजसो समस्या ग्रस्त नै बनिरहेको छ”,उहाँले भन्नु भयो ।
गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासको विनयी खोला पुल भाँचिए पछि यस क्षेत्रको यातायात थप अस्तव्यस्त वनेको थियो । सो अवधिमा निर्माण गरिएको अस्थायी डाइभर्सन पटक पटक खोलाले बगाउँदा यातायात अवरुद्ध हुने गरेको थियो । गत असार १९ गते देखि विनयी खोलामा नयाँ पुल सञ्चालनमा आए पछि सो समस्या टरेको छ ।
दाउन्ने सडक खण्ड विस्तारका लागि गत चैत २७ गते देखि चैत ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजे सम्म र वैशाख १ गते देखि ३१ गते सम्म रातिको ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो । अहिले दाउन्ने खण्डमा पर्खाल लगाउने कल्भर्ट निर्माण र सडक ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनु भयो ।
नारायणगढ–बुटवल सडक खण्डको ११४ किलोमिटर अन्तर्गत गैँडाकोट देखि दाउन्नेसम्मको ६५ किलोमिटर मध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित ६ र जोखिम बढी रहेको क्षेत्र मानिने दाइउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।
१७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीन पटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रो पटक थप भएको म्याद २०८२ साउन ८ गते सम्म रहेको छ ।