मध्यविन्दु (नवलपरासी), १९ साउन,
बुटवल–नारायणगढ सडक खण्ड अन्तरगत दाउन्ने पहाडमा पहिरो खसे पछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुई तर्फी सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाको कारण सोमवार बिहान देखि एकतर्फी भएको राजमार्ग दिउसो १ बजे देखि पूर्ण रूपमा अवरुद्ध भएको हो ।
एक तर्पी अवरुद्ध भएको सडक सुचारु गराउनका लागि प्रयास भई रहेको अवस्थामा माथि वाट पहिरो झरे पछि थप समस्या भएको प्रहरी उपरीक्षक ढकालले बताउनु भयो । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाई छ ।
सडक अवरुद्ध भए पछि अहिले सयौँ यात्रु र सवारी चालकहरू बिच बाटोमा अलपत्र परेका छन् । बुटवल–नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।
