मध्यविन्दु(नवलपरासी),२९ साउन
पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका ८ पुलवारिमा सवारी दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
बिहीबार साँझ ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक ३५ वर्षीय राजकुमार बोहोराको मृत्यु भएको हो । मृतक बोहोरा ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनु भयो । सोही दुर्घटनामा परि ३२ वर्षीय जित बहादुर महतो गम्भीर घाइते भएका छन् । महतो २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुर दरबन्दी रही हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिनु भयो ।
बा.प्र.०६–००१ क ०४४४ नं.को मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ७६ प २७१७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा बोहोराको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका जित बहादुर महतोलाई थप उपचारका लागि चितवन लगिएको छ ।