विष्णु गौडेल,दुम्कीवास , गण्डकी प्रदेशको वहुप्रतिक्षित मार्ग वगुवन-त्रिवेणी सडक खण्ड स्थानीयले सरसफाइ सुरु गरेका छन् । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको वगुवन र त्रिवेणी जोडने यो मार्ग स्थानीयले सरसफाइ गर्न थालेका हुन् । बिहीबार त्रिवेणी क्षेत्र वाट स्थानीय सर्वसाधारणहरूले सरसफाइ सुरु गरेकोमा शुक्रवार वगुवन क्षेत्र वाट सरसफाइ गरिने भएको हो ।
गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने कोरला–त्रिवेणी सडक खण्डमध्ये वगुवन–त्रिवेणी खण्ड निकै पहिले देखि चर्चा र चासो रहँदै आए पनि ठोस काम नभए पछि स्थानीयले वनको झाडी सरसफाइ सुरु गरेका हुन् ।
बिहीबार त्रिवेणीको गजेन्द्र मोच्छे धाम क्षेत्र वाट स्थानीयले सरसफाइ सुरु गरे पछि दुम्कीवास क्षेत्रका सरोकारवालाको छलफलले शुक्रवार वगुवन देखि सरसफाइ सुरु गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष दिपक पौडेलले बताउनु भयो ।
“गाउँपालिकाका जनप्रतिनिधि , सरोकारवाला , गाउँवासी सबैको उपस्थिति र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको समन्वयमा घरेलु औजारहरू हँसिया , कुटो कोदालोको प्रयोग गरी झाडी सरसफाइ गरिने छ”,उहाँले भन्नु भयो,“ वगुवन देखि गजेन्द्र मोक्ष धामसम्म बाटो सरसफाइ गर्ने निर्णय गरिएको हो ।”
यस अघि विनयी त्रिवेणी गाउँपालिका वडा नं.१ को पहलमा दमैटाडी देखि मुखिया गौरा वगुवन सम्म जाने बाटो मर्मत तथा स्तर उन्नति गरिसकिएको वडा अध्यक्ष पौडेलले बताउनु भयो ।

विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्रीको अध्यक्षतामा बसेको भेलामा जिल्ला समन्वय समितिका सदस्य कुल प्रसाद शर्मा, वडा नं.१का वडा अध्यक्ष दिपक प्रसाद पौडेल, वडा नं.२ का वडा अध्यक्ष पुष्पा आले मगर सहित स्थानीय राजनैतिक दलका प्रतिनिधि र स्थानीय सर्वसाधारण तथा युवाहरूको उपस्थितिमा निर्णय गरिएको हो ।
शुक्रवार गरिने सरसफाइ कार्यको बारेमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई पत्राचार गरिएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो । वगुवन पानीटंकी हुँदै दारसिङ्गे खोला–भेलौजी जङ्गल क्षेत्रमा बाटो सफा गर्ने कार्यक्रम रहेको निकुञ्ज प्रशासनलाई स्पष्ट जानकारी गराएको गाउँपालिका अध्यक्ष गिरीले बताउनु भयो ।
“निकै चर्चा बटुलेको यस सडक खण्ड हुलाकी सडकको रूपमा समेत रहेको र यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामाकरण गरी २०६२ असोजमा आंशिक रूपमा यातायात सञ्चालन गरिएको थियो”,उहाँले भन्नु भयो,“सडक खण्डका विभिन्न खोलाहरूमा कल्बट निर्माण गरी ग्राभेल समेत भरेर यातायात सञ्चालन भएको भए पनि २०६४ सालमा चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएको थियो । ”
अहिले घरेलु हतियारले जनश्रमदान वाट बाटो सरसफाइ मात्र गर्न लागिएको अध्यक्ष गिरीले बताउनु भयो । त्रिवेणी क्षेत्रका जनतालाई गाउँपालिका कार्यालय आउनका लागि बर्दघाट–दाउन्ने हुँदै जानुपर्ने बाध्यता रहेको छ ।
दुम्किवासबाट १८ किलोमिटर दूरीमा मात्रै त्रिवेणी पुग्न सकिन्छ । तर, अहिले दुम्कीवासबाट करिब ४५ किलोमिटरको दूरी पार गरेर त्रिवेणी पुग्नुपर्ने बाध्यता रहेको छ ।
