२ असोज,हुप्सेकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरूले हालै जेन जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी घटनाको कडा विरोध गरेका छन् । बिहीबार गाउँपालिकामा बसेको सर्वदलीय बैठकले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा घुसपैठको कारण अराजक गतिविधि बढेको भन्दै गम्भीर आपत्ति जनाएको हो ।
बैठकले देशभरि र हुप्सेकोट गाउँपालिकाभित्र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीले ठूलो क्षति पु¥याएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्नलाई कानुन बमोजिम सख्त कारबाही गर्न माग गरेको छ । निर्णयमा भनिएको छ, “आन्दोलनका नाममा देशभरी र गाउँपालिकाभित्र सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा भएको क्षतिप्रति हामी गम्भीर भर्त्सना गर्दै यस्ता गतिविधिमा संलग्न सबैलाई कानुन अनुसार कारबाही गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँछौं।”

जेन जी आन्दोलनका क्रममा भदौ २४ गते हुप्सेकोट गाउँपालिकामा वेलुवा प्रहरी चौकीमा आगजनी, गाउँपालिकाका दुई वटा सवारी साधनमा आगजनी, गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको घरमा आगजनी र गाउँपालिका कार्यालयमा तोडफोड भएको थियो । स्थानीय राजनीतिक दलहरूले यी घटनालाई जेन जी समूहको भन्दा पनि बाह्य घुसपैठको परिणाम भएको बताउँदै छानबिन र कारबाहीको माग गरेका छन् ।

यसैबीच, असोज ३ गते शुक्रबार गाउँपालिका कार्यालय, सार्वजनिक स्थल तथा प्रत्येक घरमा दीप प्रज्वलन गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठक गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, उपाध्यक्ष पूर्णसिंह राना, नेकपा एमालेका चेतन राना, नेपाली काँग्रेसका भीमनारायण रेग्मी, नेकपा माओवादी केन्द्रका नयाँदत्त गौतमसहित तेज प्रसाद पाण्डे, मेकबहादुर पुलामी, मानबहादुर लामा, ईश्वरी प्रसाद रेग्मी, वीरबहादुर विक, टेकनाथ सिग्देललगायतको उपस्थिति रहेको थियो ।