२०८२ कार्तिक ३०, आईतबार

एचआइभी सङ्क्रमितप्रति अझै लाञ्छना र भेदभाव कायम रहेको गुनासो

  • निष्कर्ष
  • २०८२ आश्विन ६, सोमबार
एचआइभी सङ्क्रमितप्रति अझै लाञ्छना र भेदभाव कायम रहेको गुनासो

नवलपुर,  एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएको पाइएको छ । लुम्बिनी प्लसले संस्थाका असल अभ्यास तथा एच.आई.भी एड्सका क्षेत्रमा रहेका समस्या तथा चुनौतीहरूको बारेमा गरेको छलफलमा सङ्क्रमितहरू प्रति हुने लाञ्छना र भेदभावमा कमी नआएको बताइएको  छ ।

लुम्बिनी प्लसका अध्यक्ष निर्मला शर्माका अनुसार शल्यक्रिया गर्नुपर्ने एच.आइ.भी सङ्क्रमितहरूले सास्ती झेल्दै आएका छन् । एचआइभी भएको बिरामी भन्ने थाहा भएपछि स्वास्थ्यकर्मीहरूबाट पनि भेदभाव हुने, जटिल प्रकृतिका स्वास्थ्य समस्या रहेका सङ्क्रमितहरूको उपचारका लागि उपचार सम्भव भए पनि अस्पतालहरूले अन्य जिल्लाको अस्पतालहरूमा रिफर गर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँको अनुसार नवलपुर जिल्लामा ६ सय जना एचआइभि संक्रमित रहेका छन् ।

सरकारी अस्पताले निजी अस्पतालमा रिफर गरिदिने र उपचारमा संलग्न स्वास्थ्य कर्मीबाट भेदभाव हुँदा सङ्क्रमितहरूलाई निकै समस्या भएको उनीहरूको भनाई छ । आर्थिक अवस्थामा कमजोर भएका र विपन्न परिवारका सदस्य मात्र संस्थाको सम्पर्कमा आउने गरेको हुँदा उनीहरूको सबै मागलाई सम्बोधन गर्न नसकेको, स्वास्थ्य अवस्था कमजोर भइसकेपछि पहिचान भएका एचआइभी सङ्क्रमितहरूको उपचार व्यवस्थापनमा समस्या, सङ्क्रमित बालबालिका वयस्क भरसकेपछि विवाह गर्न समस्या रहेको, विवाह गरी अन्यत्र बसाइँसरि जाँदा औषधी बिचमै छाड्ने र संस्था वा एआरटी सेन्टरहरू सँग सम्पर्कमा नआउने सङ्क्रमितका कारण एचआइभीको जोखिम बढाएको र स्थानीय तहले सङ्क्रमितहरूको लागि आवश्यक कार्यक्रम प्राथमिकतामा नराख्दा समस्या भएको अध्यक्ष पौडेलले बताउनुभयो ।

लुम्बिनी प्लसले विगत २० वर्ष देखि साबिक नवलपरासी जिल्लामा एचआइभी सङ्क्रमितहरूको हेरचाह र सहयोग गर्दै आइरहेको छ । संस्थाले सङ्कट व्यवस्थापन केन्द्र, घर तथा समुदायमा आधारित हेरचाह कार्यक्रम मार्फत सहयोग गर्दै आएको हो ।

जसअन्तर्गत सङ्क्रमितहरूका लागि नियमित जाँचहरू, उपचारमा समन्वय र ए.आर.टी निरन्तरतामा सहयोग, जिल्लामा रहेका आवश्यक कागजात भएका एचआइभी सङ्क्रमितहरू तथा परिवारका सदस्यहरूको समेत निःशुल्क स्वास्थ्य बिमा गर्न, जिल्ला अस्पतालबाट रिफर भई शिक्षण अस्पताल, वीर अस्पताल लागाएतमा गएका सेवग्राहीहरुलाई उपचार खर्चमा समन्वय र सहयोग, सङ्क्रमितहरूलाई मनोसामाजिक परामर्श गरी आत्म लाञ्छना कम गराउन तथा घर परिवारमा एच.आई.भीको अवस्था खुलाउन, ए.आर.टी औषधि खान छाडेका सेवाग्राहीहरूलाई पुनः ए. आर. टी सुरु गराइएको, स्थानीय निकायहरूसँगको समन्वयमा एच.आई.भी सङ्क्रमितहरूका लागि पोषणयुक्त सामाग्री तथा सङ्क्रमित बालबालिकाहरूलाई शैक्षिक समाग्रीहरु वितरणमा समन्वय र सहयोग गर्ने, एचआइभी सङ्क्रमित सेवाग्राहीहरू भाइरल लोड जाँच, स्वास्थ्य जाँच र आफ्नो स्वास्थ्य प्रति सचेत बनाउने काम गर्दै अध्यक्ष पौडेलले बताउनुभयो ।

छलफल कार्यक्रममा कावासोती नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद नागिला, कावासोती नगरपालिका स्वास्थ्य शाखाका सिनियर अ.हे.व अधिकृत पारेश्वर भुर्तेल, स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुखहरू सहित सङ्क्रमितहरूको उपस्थिति रहेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस