विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), १५ असोज,
नेपालीहरूको महान् पर्व विजया दशमी आँगनमै आइपुगेको छ । बजारमा किनमेलको चहलपहल बढेको छ । यस्तै किनमेलको चहल पहल नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले चलाएको खसी बोका सङ्कलन तथा विक्री केन्द्रमा पनि देखिएको छ ।
यहाँ हुप्सेकोट गाउँपालिका भित्रका किसानहरूले उत्पादन गरेको खसी बोका सङ्कलन गरी विक्रीका लागि राखिने गरिन्छ । दसैँलाई लक्षित गरी घटस्थापना पछि विक्री सुरु गरिएकोमा अहिले सम्म तीन सय ५० खसी बोका विक्री भई सकेको लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले बताउनु भयो ।
“असोज ६ गते देखि खसी बोका सङ्कलन र विक्री सुरु गरेका हौँ, अहिले सम्म तीन सय ५० वटा खसी बोका विक्री गरेका छौ”,उहाँले भन्नु भयो,“प्रति किलो ज्यूँदो सरदर ५७० रुपैयाँको दरले बिक्री गरिएको छ ।”
लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत बाह्रै महिना खसी बोका सङ्कलन र विक्री गरिने भए पनि चाडपर्वलाई लक्षित गरी किसानहरूले बढी खसी बोका ल्याउने र चाडपर्वमै बढी विक्री हुने गरेको व्यवस्थापक परियारले बताउनु भयो ।
“गत वर्षको दसैँमा १५ सय खसी बोका विक्री गरिएको थियो, सोबापत करिब दुई करोड ५० लाख बढीको कारोबार भएको थियो”,उहाँले भन्नु भयो,“यस वर्षको अहिले सम्म गत वर्षको भन्दा कम विक्री भएको छ तर दसैँ पछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौ ।”

गाउँमा उत्पादित खसी बोका बजारसम्म पु¥याउनका लागि सहकारीले विगत ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ । कृषकहरूले भनेको समयमा विक्री गर्न र उत्पादन अनुसारको मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषि उपचको बजारीकरण गर्दै आएको व्यवस्थापक परियारले बताउनु भयो ।
“दसैँ नजिकिए सँगै सहकारीका कर्मचारीहरू र सञ्चालक समिति आफै गाउँबाट खसी बोका सङ्कलन गरी ल्याउने गर्दछौ”,उहाँले भन्नु भयो,“सहकारले यस पटक पनि दसैँ देखि तिहार सम्ममा १५ सय खसी बोका बिक्री गर्ने लक्ष्य राखेको छ ।”
दसैँ मनाउने खर्च खसी बोका बचेर आम्दानी हुने र सहकारीले घरबाट नै खरिद गर्ने भएपछि स्थानीय कृषकहरू खुसी भएका छन् । पहिले व्यपारीहरुले जति मूल्य भन्यो सोही मूल्यमा बिक्री गर्दै आएकोमा केही वर्ष देखि सहकारी मार्फत विक्री गर्दा बजारको चिन्ता नभएको स्थानीय शर्मिला विश्वकर्माले बताउनु भयो ।
“सहरकारीले घरमा नै आएर खसी बोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्या हटेको छ”,उहाँले भन्नु भयो ।
यहाँ शेयर सदस्य बाहेक अन्य कृषकहरूको पनि खसी बोका खरिद गर्ने गरिएको छ । ठुला व्यापारी देखि स्थानीय समेत खसी बोका लिन सहकारीमा आउने गरेका छन् । किसानहरूले ल्याएको खसी बोका सहकारी मार्फत विक्री गर्दा किसानहरू ठगिनु नपरेको कृषक विश्वकर्माले बताउनु भयो ।
“पहिले सहकारी नहुँदा सिधै व्यापारीहरूलाई बेच्दा उनीहरूको मूल्यमा बेच्नु पर्दथियो, उनीहरूले भनेको दरमा विक्री गर्दा खासै नाफा हुन्थेन”, उहाँले भन्नु भयो,“अहिले ठगिने समस्या हटेको छ, जति उत्पादन गर्न सके पनि विक्री भएको छ ।”
हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रा पालक कृषकहरूको सङ्ख्या उल्लेख्य रहेकाले यहाँ वाट बर्सेनि सयौँ को सङ्ख्यामा खसी बोका काठमाडौँ पोखरा लगायतका सहरमा निर्यात गर्ने गरिएको छ । यहाँ बाख्रा पालन गर्ने कतिपय महिलाहरूले विदेश गएका श्रीमानले भन्दा बढी आम्दानी गर्ने गरेको उदाहरण पनि भेटिन्छ ।
