दुम्कीवास,२० असाेज, सांस्कृतिक संरक्षण र बाल उद्यान निर्माणको उद्देश्यका साथ यस वर्ष पनि ऐतिहासिक तथा धार्मिक महत्व बोकेको डाँडाजोरमा १२ औँ डाँडाजोर महोत्सव तथा पूर्णिमा मेला–२०८२ भव्यरुपमा आयोजना हुने भएको छ।
नवलपारसी(बर्दघाट सुस्तापूर्व)काे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित डाँडाजोरमा यहि असोज २१ गते पूर्णिमाको अवसरमा आयोजना हुन लागेको यस मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा विविध सांस्कृतिक कार्यक्रम हुने डाँडाजोर मेला व्यवस्थापन तथा संस्कृती संरक्षण समितिका अध्यक्ष राजेन्द्र तिमल्सेनाले बताउनु भयाे ।
“कार्यक्रममा पशुपती शर्मा, बन्धना विश्वकर्मा, दिप काफ्ले, सृष्टि पौडेल लगायतका चर्चित कलाकारहरूकाे प्रस्तुतिका साथै स्थानीय कलाकारहरूकाे पनि सांस्कृतिक कार्यक्रम रहने छ”,तिमल्सेनाले भन्नु भयाे ।
मेलामा सराया नाच, खाेडा तरवारको नाच, थारु समुदायको परम्परागत नाच, सांस्कृतिक महत्व बोकेको मारुनी नाच, स्थानीय स्वादका परिकार, बाल उद्यानका खेलकुद, झलुङ्गेपुल साथै मणिखम्बा मन्दिर अवलोकन लगायतका आकर्षण रहनेछन् ।
मेलाको आयोजना डाँडाजोर मेला व्यवस्थापन तथा संस्कृती संरक्षण समितिले गरेको हो । आयोजकले सबैलाई मेलामा सहभागी भई सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्न अनुरोध गरेकाे छ ।