मध्यविन्दु (नवलपरासी), २ कात्तिक
नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङ्गले जनअपेक्षा अनुरूप कार्य व्यवहारमा सुधार गर्न प्रहरी–कर्मचारीलाई आग्रह गर्नु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गर्नु हुँदै महानिरीक्षक खापुङ्गले आन्दोलनको जनभावना अनुसार सुधार गर्नु पर्ने पक्षहरूलाई सुधार गर्न प्रतिबद्ध रहन निर्देशन दिनु भएको हो ।
“जनअपेक्षा अनुरूप हामी पनि केही सुध्रनु पर्ने छ कि, हाम्रो बोली वचन व्यवहार मा सुधार ल्याइ नागरिक मैत्री कार्यमा अझै कसरी अगाडि बढाउनु पर्छ भन्ने कुरमा दत्त चित्त भएर अगाडि बडन आग्रह गर्दछु”,महानिरीक्षक खापुङ्गले भन्नु भयो ।

महानिरीक्षक खापुङ्गले जेनजी आन्दोलनका क्रममा प्रहरी, रजनैतिककर्मी, सिंहदरबार, संसद भवन, र नगरपालिका नै किन निशानामा परे भन्ने बारेमा सबैले आत्म समीक्षा गर्नुपर्ने बताउनु भयो । “जेनजी आन्दोलनका मूलभूत मागहरू भ्रष्टाचार रहित समाज,सहज सेवा, सुशासन हाम्रा पनि माग हुन हामी सबैको माग हुन”,उहाँले भन्नु भयो,“राज्यको उन्नति प्रगति चाहने सबैका माग हुन, अव त्यसलाई आत्मसात् गर्नु पर्छ ।”

महानिरीक्षक खापुङ्गले जेनजी आन्दोलनमा घुसपैठ गरेर समाजलाई धमिलाउन खोज्ने जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ । राजनैतिक विषय बाहेक अन्य फौजदारी विषयमा कारबाही गरिने उहाँले स्पष्ट पार्नु भयो ।
“जेनजी आन्दोलनमा घुसपैठ गरेर समाजलाई धमिलाउन खोज्ने तत्त्वका विरुद्धमा छौ”,उहाँले भन्नु भयो,“तिनीहरूलाई कारबाहीको दायरामा ल्याउछै, ल्याउनु पर्छ, त्यो कुरामा हामी प्रतिबद्ध छौ , राज्य प्रतिबद्ध छ र प्रतिबद्ध हुनु पर्छ ।”

प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट जिल्लाको कावासोती नगरपालिका–२ मा निर्माण गरिएको प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्पको उद्घाटन गर्नु भएको थियो ।
कुल १० करोड ९८ लाख रुपियाँ बजेटमा निर्माण गरिएको पेट्रोल पम्प परिसरमा चार्जिङ स्टेसन, रिफ्रेस सेन्टर, एटिएम मेशिन, टोकन काउन्टर, वर्कसप लगायतका सुविधा रहेको गण्डकी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले बताउनु भयो ।
काठमाडौँ उपत्यकामा दुई सहित देशभर नौ वटा पेट्रोल पम्प प्रहरी कल्याण कोषले सञ्चालन गरेको थापाले जानकारी दिनु भयो ।