नवलपुर, कात्तिक १० ।
राष्ट्रवाद, लोकतन्त्र र समाजवादका आदर्शमा आधारित नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल ले आफ्नो ७३ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। दलको नवलपुर जिल्ला कार्यसमितिले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थापना दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तरुण सदस्यहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।
जिल्ला अध्यक्ष मिन बहादुर घले र सचिव रामचन्द्र थापा (विशाल) द्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल तरुण दलले देशको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुशासनको यात्रामा ऐतिहासिक भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। विज्ञप्तिमा पार्टीका संस्थापक नेता वि.पी. कोइरालाको योगदान स्मरण गर्दै उहाँको आदर्श र त्यागले नेपाली राजनीतिको दिशालाई नयाँ मोड दिएको उल्लेख छ।
विज्ञप्तिमा विभिन्न समयमा सशक्त आन्दोलनमार्फत स्वतन्त्रता, समानता र सामाजिक न्यायको पक्षमा दलले निभाएको अग्रणी भूमिकाको चर्चा गर्दै सबै तरुण सदस्यहरूलाई राष्ट्रिय अखण्डता, लोकतन्त्र र विकासप्रति समर्पित रहन आह्वान गरिएको छ।
नेपाल तरुण दलले जनताको अधिकार, स्वतन्त्रता र गणतन्त्रको संरक्षणका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता जनाएको छ। साथै, वर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा युवाहरूले देश र समाजप्रति जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।
