२०८२ मंसिर २४, बुधबार

मेडरी नाचको सिप युवा पुस्तामा सिकाउँदै पाका पुस्ता

  • निष्कर्ष
  • २०८२ कार्तिक १६, आईतबार
मेडरी नाचको सिप युवा पुस्तामा सिकाउँदै पाका पुस्ता

विष्णु गौडेल, मध्यविन्दु (नवलपरासी), १५ कात्तिक,(रासस),
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ लेडाहाका ७० वर्षीय दुलामणि गुरौ केही वर्ष देखि मेडरी नाच युवाहरूलाई सिकाउँदै आउनु भएको छ । थारु समुदायको पौराणिक महत्त्व बोकेको मेडरी नाच लोप हुन थाले पछि दुलामणि सँगै पाका पुस्ता यसको संरक्षणमा जुटेका हुन् ।
थारु समुदायले परापूर्व काल देखि नाच्दै आएको मेडरी नाच प्रति युवा पुस्ताको चासो कम हुँदै जान थाले पछि पाका पुस्ताले नाच संरक्षणका लागि कला सिप हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन ।
दुलामणि गुरौले अहिले मेडरी नाच समूहको नेतृत्व सँगै नाचको संरक्षणका लागि नयाँ पुस्तालाई पनि सिकाउन थाल्नु भएको हो । पुरानो पाको पुस्ताकाले मात्र मेडरी नाचको जगेर्ना गर्न सम्भव नभएकाले युवाहरूलाई पनि सिकाउने पहल गरिरहेको गुरौले बताउनु भयो ।
“मेडरी नाच्न धेरै जना हुनु पर्छ अहिले धेरै हामी ७० वर्ष पार गरेका पाका पुस्ता छौ इच्छा देखाउने युवाहरूलाई पनि सिकाउँदै नाचमा जोडिरहेका छौ”,उहाँले भन्नु भयो,“युवा पुस्तालाई यो नाचको महत्त्व बुझाउँदै सिक्न प्रेरित गरिरहेका छौ ।”
हरेक वर्ष हरिबोधिनी एकादशीका दिन मध्यविन्दु नगरपालिका–३ लेडाहा देखि कावासोती नगरपालिका–१५ गुन्द्रही सम्म धार्मिक विधि अनुसार नाच्दै जाने गरिएको छ । महाभारतमा आधारित मेडरी नाच थारु समुदायको ऐतिहासिक नाच मध्यको एक रहेको मेडरी नाच नचनिया गुरौले बताउनु भयो ।
“मेडरी नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनियाहरू गोलाकार रूपमा नाच्ने गरिन्छ”उहाँले भन्नु भयो,“यो नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीता हरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँचपाण्डबहरूले प्रयोग गरेका सामानहरू लिएर समूहमा गोलाकार भएर नाचिन्छ ।”
थारु समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको स्थानीय गेनाराम महतोले बताउनु भयो ।
“दैवी शक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभ कार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उहाँले भन्नु भयो,“पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ ।”
महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बिचमा ध्वजापताका सहितको ठुलो बासको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबार को प्रयोग हुन्छ । यस नाच प्रति केही युवाहरूले चासो देखाएर सिक्न थालेको हुम बहादुर थनेतले बताउनु भयो ।
“यस नाचका लागि आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवाहरूमा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ”,थनेतले भन्नु भयो ।
थारु समुदायको लाठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाच अहिले पनि पाका पुस्ताकै भर पर्नु पर्ने अवस्था रहेको छ । थारु संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्त्व रहेको चुनिलाल थनेतले बताउनु भयो । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्त्व बिर्सिँदै गएको थनेतको गुनासो रहेको छ ।
“पहिले–पहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले मात्र नाच नचाउन गारो हुन थालेको छ”,थनेतले भन्नुभयो, “अहिले केही युवाहरूको सहभागिता बढ्न थलेको छ ।”
थारु समुदायमा कृष्ण लीला र महाभारतमा आधारित मेडरी नाच मात्रै देखाउने गरिएको छ भने सीता हरण नाच लोप हुने अवस्थामा पुगेको दुलामणि गुरौले बताउनु भयो ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस