विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), १६ कात्तिक
बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा सवारी जाम कम हुन सकेको छैन् । सडक हिलो र चिप्लो हुँदा गत शुक्रवार देखि अवरुद्ध भएको यस सडक खण्ड सहज नहुँदा अहिले पनि लामो सवारी जाम लागेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड सहज नहुँदा यात्रुहरूले निकै सास्ती खेप्नु परेको छ ।
आइतबार यस क्षेत्रमा वर्षा नभए पनि सडक हिलो हुँदा सहज सवारी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनु भयो । सडक हिलो र चिप्लो हुँदा सवारी आवागमन असहज भएको हो । गत शुक्रवार देखि असहज भएको यस सडक खण्डमा सवारी चाप बढ्दा थप समस्या भएको पाण्डेले जानकारी दिनु भयो ।

दाउन्ने क्षेत्रको तीन स्थानमा एक तर्फी भएको सडकमा मालवाहक ट्रक फस्दा लामो सवारी जाम लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनु भयो ।
“आइतबार वर्षा नभए पनि शुक्रवार देखि रोकिएका सवारीको चाप हुँदा दाउन्ने क्षेत्रमा अहिले करिव सात किलोमिटर पर सम्म सवारी जाम रहेको छ”,उहाँले भन्नु भयो,“दाउन्नेको विश्वकर्मा मन्दिर क्षेत्रमा हिलो सडक हुँदा पूर्व वाट पश्चिम तर्फ जाने सवारी साधनहरू बिच सडकमा फस्ने गरेका छन् ।”
सडक लेन मिचेर सवारी सञ्चालन गर्दा सहज भएको स्थानमा समेत सडक अवरुद्ध भएको प्रहरी उपरीक्षक खड्काले बताउनु भयो । दुम्कीवास पुलमा दुई वटा सवारी साधन बिग्रिएर बसेकाले लामो जाम लागेको छ । सवारी व्यवस्थापनमा दर्जनौँ प्रहरी परिचाल गरिएको प्रहरीले जनाएको छ ।

वर्षाको कारण दाउन्ने सडक चिप्लो भई सवारी साधन सञ्चालनमा अवरुद्ध हुँदै आएको थियो । सडक अवरुद्ध हुँदा सयै सवारी साधन र यात्रुहरू बिच बाटोमा अलपत्र परेका छन् ।
बुटवल–नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ । दाउन्ने क्षेत्रमा समय समयमा सडक मर्मत नगरिँदा यात्रुहरूले सास्ती खेप्नु परेको स्थानीले गुनासो गरेका छन् ।