२०८२ मंसिर २९, सोमबार

काँक्रा खेतीमा रमाउँदै हुप्सेकोटका किसान

  • निष्कर्ष
  • २०८२ मंसिर १४, आईतबार
काँक्रा खेतीमा रमाउँदै हुप्सेकोटका किसान

विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी), १४ मङ्सिर,(रासस)
नवलपरासी(बर्दघाट–सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका वडा नम्बर १ जुकेपानीका किसानहरू अहिले काँक्रा टिप्न र विक्री गर्नमा निकै व्यस्त छन् । यस क्षेत्रमा बिहानैदेखि खेतबारीमा किसानहरूको चहलपहल बढेको छ । यहाँका किसानहरूलाई अहिले काँक्रा टिप्ने, छान्ने र बजार पठाउने काममा भ्याइ नभ्याई छ ।
स्थानीय रवीन्द्र रजाली विगत २६ वर्ष देखि व्यवसायिकरुपमा काँक्रा खेती गर्दै आउनु भएको छ । दुई बिगाहा जमिनमा काँक्रा खेती गर्नु भएका रजालीले खर्च कटाएर वार्षिक २० लाख रुपैयाँ सम्म आम्दानी हुने गरेको बताउनु भयो ।
“छोटो समय, कम लगानी र राम्रो आम्दानी भएकाले हामी किसानलाई काँक्रा खेती उपयुक्त लाग्ने गरेको छ”,उहाँले भन्नु भयो, “एक बाली धान लगाएर काँक्रा लगाउने गरेकोमा अहिले तीन बाली सम्म काँक्रा मात्रै लगाउने गरेका छौ ।”
यस्तै, तरकारी सुपर जोन कार्यक्रमका संयोजक तथा कृषक थमन रजालीका अनुसार हुप्सेकोट गाउँपालिकामा करिब तीन हजार घरधुरी किसान काँक्रा खेतीमा संलग्न छन् । रजालीले भन्नु भयो,“हामीले १४ वर्षदेखि काँक्रा खेती गरिरहेका छौँ । यस वर्ष मात्रै ८० टनभन्दा बढी बिक्री गर्ने लक्ष्य छ ।”
कृषि पकेट क्षेत्रको रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा १ मा किसानहरू काँक्रा नलगाउने कमै मात्र भेटिन्छन् । आम्दानीको स्रोत कृषि भए पनि व्यावसायिक रूपमा आम्दानी लिन नसकेका किसानहरू अहिले काँक्रा खेतीमा आकर्षित हुँदै आएका छन् । वर्षमा तीन बालीसम्म यहाँका किसानले काँक्रा खेती लगाउँदै आएका छन् ।
धान बाली मात्रै लगाउँदै आउनुभएको दिलमाया परियारले काँक्रो बाट मनग्ये आम्दानी गर्न सकिने थाहा पाएपछि छ वर्षदेखि व्यावसायिक रूपमा काँक्रा खेती लगाउँदै आउनुभएको छ । “दुई कट्ठामा लगाएको काँक्राबाट खर्च कटाएर वर्षमा करिब दुई लाख आम्दानी हुने गरेको छ”,परियारले भन्नु भयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अनुसार, हुप्सेकोट गाउँपालिकाको वडा नं. १, २, ३ र ४ मा तीन सय ५० हेक्टर क्षेत्रफलमा भक्तपुरे लोकलसहित अन्य काँक्राको व्यावसायिक खेती हुने गरेको छ । भदौको अन्तिमदेखि फागुनसम्म निरन्तर उत्पादन हुने काँक्रा काठमाडौँ, बुटवल, नारायणगढ लगायतका ठुला बजारमा विक्रीका लागि लगिने गरिएको छ ।
समूह र व्यवसाय दर्ता गरी काँक्रो खेती लगाएका किसानहरूलाई ५० प्रतिशत अनुदानमा बिउँ, प्लास्टिक मल्चिङ्क, प्याकेजिक प्लास्टिक, तौल काटा, डोरी लगायतका सामाग्रीहरू गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनु भयो । गाउँपालिका क्षेत्र वाट उत्पादन हुने तरकारी जन्य बस्तुको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष पाण्डेको भनाई छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस