फेसबुकमा पछ्याउनुहोस्
नवलपुर,२्र५ मंसिर ,
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा कावासोती नगरपालिका-३ स्थित लर्ड बुद्ध एकेडेमी स्कुल अफ साइन्स एन्ड म्यानेजमेन्टमा डिजिटल सुरक्षा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। “सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसा अन्त्य गर्न एकताबद्ध बनौँ” भन्ने अन्तर्राष्ट्रिय नारा तथा “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ आयोजित उक्त तालिममा किशोर किशोरीलाई अनलाइन सुरक्षा तथा डिजिटल हिंसा न्यूनीकरणका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।
उक्त कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपाल, क्यान्नलान, पिपिडिसी नेपाल, एसिया सेन्टर, कन्सोर्टियम नेपाल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) तथा राष्ट्रिय बालमैत्री स्थानीय शासन फोरमको संयुक्त आयोजनामा तथा विद्यालयको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रमको सभाध्यक्षयता किशोरी प्रकृति काफ्लेले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा विद्यालयका प्रधानाध्यापक कृष्ण ढकाल उपस्थित थिए।
जागृति बाल तथा युवा सरोकार नेपालकी सिनियर कार्यक्रम अधिकृत राधा देवी बोटेले संस्थाले देवचुली र कावासोती हुँदै हाल मध्यविन्दु नगरपालिकासँग सहकार्य गर्दै किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत ३० जना साथी शिक्षकमार्फत निरन्तर गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिइन्। हाल डिजिटल माध्यमबाट बालिका तथा महिलामाथि हुने हिंसा, दुर्व्यवहार तथा ठगीका घटना बढ्दै गइरहेको बताउँदै उनले यस्ता जोखिमबारे सचेतना वृद्धि गर्नु नै तालिमको मूल उद्देश्य रहेको उल्लेख गरिन्।
कार्यक्रमकी साथी शिक्षक सिवानी सापकोटाले अनलाइन सुरक्षा, डिजिटल खतराका प्रकार, इन्टरनेटमार्फत हुने ठगी तथा जालसाजी, र सुरक्षित रहनुपर्ने उपायबारे विस्तृत सहजीकरण प्रस्तुत गरिन्। उनले प्रविधिको सही प्रयोगबारे अझै पर्याप्त चेतना नभएकाले घरपरिवार र समुदायमा अनलाइन जोखिम बढिरहेको उल्लेख गर्दै आफूले सिकेका विषयहरू निरन्तर अभिभावक र साथीहरूलाई समेत बाँड्दै आएको बताइन्।
सहभागी किशोर प्रविन न्यौपानेले आफ्नो विद्यालयकी किशोरी प्रशिक्षकबाट डिजिटल सुरक्षाबारे महत्त्वपूर्ण ज्ञान पाउनुभएकोमा खुसी व्यक्त गर्दै सिकेका कुराहरू व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाए। अर्का सहभागी किशोर निर्माण पाण्डेले सामाजिक सञ्जाल तथा साइबर अपराधबाट धेरै व्यक्तिहरू प्रभावित भइरहेकाले प्रविधिको सदुपयोग गर्दै सुरक्षित रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे। पूर्व साथी शिक्षक रजिता न्यौपानेले तालिममार्फत धेरै नयाँ सिकाइ प्राप्त भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा प्राप्त हुने लिङ्क सचेत भएर मात्र खोल्नुपर्ने आवश्यकतामाथि जोड दिइन्।
प्रमुख अतिथि कृष्ण ढकालले विद्यालयमा डिजिटल अध्ययनसम्बन्धी पाठ्यक्रम राखिएको भए पनि डिजिटल उपकरणहरूको अत्यधिक प्रयोगले सम्भावित जोखिम सिर्जना गर्न सक्ने भन्दै यस्ता जोखिमबारे सिकाइ अत्यावश्यक रहेको बताए। उनले डिजिटल नीति नियम अनुसार अघि बढ्न विद्यार्थीहरूलाई मार्गदर्शन गर्न शिक्षक तथा अभिभावक समान रूपमा सजग हुनुपर्नेमा जोड दिए।
सभाध्यक्ष प्रकृति काफ्लेले तालिमले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने तथा आफ्नो समुदायमा सकारात्मक सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गर्दै सबैप्रति धन्यवाद ज्ञापन गरिन्।
२० जना किशोरी र २५ जना किशोर सहित ४५ जनाको सहभागिता रहेको तालिममा जागृति बाल तथा युवा सरोकार नेपालकी सामाजिक परिचालक रूपा भट्टराई काफ्लेको पनि उपस्थित रहेको थियो।