२०८२ फागुन २, शनिबार

युवाको पहलमा मध्यविन्दुमा ‘कपडा बैंक’ सञ्चालन, विपन्नलाई न्यानो कपडा निःशुल्क वितरण

  • निष्कर्ष
  • २०८२ पौष १०, बिहिबार
युवाको पहलमा मध्यविन्दुमा ‘कपडा बैंक’ सञ्चालन, विपन्नलाई न्यानो कपडा निःशुल्क वितरण

विष्णु गौडेल, मध्यविन्दु, १० पुस ,

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका युवाहरूले चिसो मौसममा विपन्न नागरिकलाई न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका छन्।

मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा स्थानीय युवाहरूको सक्रियतामा न्यानो कपडा संकलन तथा वितरणका लागि कपडा बैंक स्थापना गरिएको हो। मध्यविन्दु युथ कमिटी गठन गरी यही पुस ७ गतेदेखि कपडा बैंक औपचारिक रूपमा सञ्चालनमा ल्याइएको कमिटीका अध्यक्ष विजय गुरुङले जानकारी दिनुभयो।

कपडा बैंकमार्फत इच्छुक व्यक्तिहरूबाट न्यानो कपडा संकलन गरिँदै आएको छ भने ती कपडा आवश्यकता भएका गरिब तथा विपन्न नागरिकलाई निःशुल्क रूपमा वितरण गरिँदै आएको छ। अरुणखोला बजारमा राखिएको कपडा बैंक घरबाट स्थानीय विपन्न नागरिकले सहज रूपमा न्यानो कपडा लिन सक्ने व्यवस्था गरिएको छ।

युवाहरूले मध्यविन्दु नगरपालिका भित्रका सबै प्राथमिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई पनि निःशुल्क न्यानो कपडा वितरण गर्ने तयारी गरेको अध्यक्ष गुरुङले बताउनुभयो।

कपडा बैंक स्थापना तथा सञ्चालनका लागि अरुणखोला सामुदायिक वन ले अस्थायी टहरो उपलब्ध गराउँदै सहयोग गरेको छ। सामाजिक सेवामा केन्द्रित यस अभियानमा नविन श्रेष्ठ, विप्लव रसाइली, सुरज केसी, राम गुरुङ, युगेश गुरुङ, अंकश निगम, शिशिर अधिकारी, सुसन राना, गोपाल सापकोटा, विजय लामा, सुनिल गुरुङलगायत स्थानीय युवाहरूको सक्रिय र महत्वपूर्ण भूमिका रहेको बताइएको छ।

युवाहरूको यस सामाजिक अभियानले चिसो मौसममा विपन्न समुदायलाई राहत पुग्नुका साथै समाजमा सहकार्य र मानवीय सेवाको सन्देश फैलाएको स्थानीयवासीले बताएका छन्।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस