विष्णु गौडेल, हुप्सेकोट,१० पुस ,नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ पाङग्रेममा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ। हुप्सेकोट गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरबाट ४२ घरपरिवारले पालेका पाँच सयभन्दा बढी बाख्राको औषधि उपचार गरिएको छ भने आवश्यक औषधि निःशुल्क वितरण गरिएको छ।
स्थानीय किसानले पालेका बाख्रामा विभिन्न खाले स्वास्थ्य समस्या देखिएपछि गाउँपालिकाले निःशुल्क पशु स्वास्थ्य शिविरमार्फत उपचार सेवा उपलब्ध गराएको हुप्सेकोट गाउँपालिकाको पशु सेवा शाखाका बुद्धि बहादुर देउजाले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा पशुचौपायाका लागि आवश्यक विभिन्न प्रकारका औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो।

शिविर कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले कृषि तथा पशुपालन क्षेत्रलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको बताउनुभयो। कृषकहरूको सहजताका लागि गाउँपालिकाले पूर्ण साथ र सहकार्य गर्ने उहाँको प्रतिबद्धता थियो। विकट पहाडी बस्तीका नागरिकलाई घरदैलोमै सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको अध्यक्ष पाण्डेले स्पष्ट पार्नुभयो।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह रानाले पशुपालक किसानका समस्या समाधानका लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो। सबै नागरिकले स्थानीय सरकारको अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइएको उहाँको भनाइ थियो।
