कावासाेती,१३ पुस, कावासोती नगरपालिकामा डिजिटल साक्षरता तथा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। नगर युवा सञ्जाल, कावासोतीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम नगर युवा सञ्जालका अध्यक्ष पवन भुर्तेलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा कावासोती नगरपालिकाकी उपप्रमुख फुलकुमारी थनेत प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा बोल्दै उपप्रमुख थनेतले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका जोखिम पनि बढ्दै गएको उल्लेख गर्दै सुरक्षित डिजिटल व्यवहारबारे सचेत रहन सबैमा आग्रह गर्नुभयो। उहाँले विशेष गरी विद्यार्थी र युवाहरूलाई डिजिटल माध्यमको सही उपयोग र साइबर सुरक्षाबारे जानकारी लिन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा डिजिटल साक्षरता, सुरक्षित अनलाइन व्यवहार, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, साइबर अपराधबाट बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो। सहभागीहरूलाई प्रविधिको सकारात्मक प्रयोगमार्फत व्यक्तिगत तथा सामाजिक विकासमा योगदान पुर्याउन प्रेरित गरिएको आयोजकले जनाएको छ।
नगर युवा सञ्जाल, कावासोतीले आगामी दिनमा पनि युवामैत्री तथा सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
