२०८२ फागुन २, शनिबार

सोमबार देखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन

  • निष्कर्ष
  • २०८२ पौष १५, मंगलबार
सोमबार देखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन

विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी),१५ पुस,(रासस)
नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत दाउन्नेमा सोमबार बिहान देखि अवरुद्ध रहेको सडक अझै सञ्चालनमा आउन सकेको छैन । केही दिन देखिको सित लहरले दाउन्नेमा सडक चिप्लो र हिलो हुँदा सडक चिप्लो तथा हिलाम्य बनेपछि राजमार्ग नै अवरुद्ध भएको हो । दाउन्ने स्थित खुर्सानी खोला आसपासको सडकमा सवारी साधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहान देखि नै राजमार्गमा लामो सवारी जाम लागेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार सवारी साधनको जाम बिस्तारै हटाउने प्रयास भइरहेको छ । तर बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारी सञ्चालनमा अत्यधिक कठिनाइ भइरहेको उहाँले बताउनु भयो । जोशीका अनुसार दाउन्नेबाट दुम्कीबास जङ्गलसम्म करिब १५ सय सवारी साधन जाममा फसेका छन् ।
नारायणगढ–बुटवल सडक खण्ड योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव अझ बढी परेको जानकारी दिनुभयो ।
“सडक निर्माण भइरहेको स्थानमा बाटो हिलो बनेपछि दाउन्नेको उकालो चढ्न सवारी साधनलाई गाह्रो भएको छ”,उहाँले भन्नु भयो,“हाल खुर्सानी खोला क्षेत्रमा ग्राभेल हाल्ने काम भइरहेको र अवस्था सहज नहुँदासम्म मालवाहक सवारीलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकेर राखिएको छ ।”
हिजो बाट सुरु भएको जाम अहिले सम्म पनि कायमै रहँदा यात्रुहरू अलपत्र परेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो ।
“बसभित्र चिसोले काँपिरहेका बालबालिका, घण्टौँदेखि गन्तव्य नपुगेका यात्रु र सडकमै रोकिएका मालवाहक सवारीहरूले दाउन्ने देखि दुम्कीवास सम्मकै अवस्था अझै कष्टकर बनेको छ”,उहाँले भन्नु भयो ।

यसैबिच आयोजनाले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । दाउन्ने खण्डमा एकातिर सडक निर्माण र मर्मतको काम, अर्कोतिर शीतलहरले सडक हिलाम्य बनेपछि सवारी सञ्चालनमा गम्भीर समस्या देखिएको आयोजनाको भनाइ छ । साथै सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न र सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस