२०८२ फागुन २, शनिबार

विपद् आउनुअघि तयारी: विनयी त्रिवेणी गाउँपालिकामा मा स्वयंसेवक तालिम सुरु

  • निष्कर्ष
  • २०८२ पौष २०, आईतबार
विपद् आउनुअघि तयारी: विनयी त्रिवेणी गाउँपालिकामा मा स्वयंसेवक तालिम सुरु
विष्णु गौडेल, दुम्कीवास, २० पुस 
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को  विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण र समुदायको तयारीलाई सुदृढ बनाउने उद्देश्यले समुदाय विपद् स्वयंसेवक तालिम सुरु गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ३१ गुल्म हेडक्वार्टर पूर्वी नवलपरासीको आयोजनामा तथा विनयी त्रिवेणी गाउँपालिकाको सहकार्यमा विपद् स्वयंसेवक तालिम सञ्चालन गरिएको हो ।
नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको संवेदनशील भौगोलिक अवस्थालाई मध्यनजर गर्दै विपद् स्वयंसेवक तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३१ गुल्म हेडक्वार्टर पूर्वी नवलपरासीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक लक्ष्मण बरालले बताउनु भयो ।
“तालिमले स्थानीय स्वयंसेवकहरूको क्षमता अभिवृद्धि गरी विपद् व्यवस्थापन, उद्धार तथा सहजीकरणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ”,उहाँले भन्नु भयो, “सुरक्षा निकाय मात्र पर्याप्त हुँदैन, प्रशिक्षित समुदाय भएमा विपद्को क्षति न्यून गर्न सकिन्छ ।”
विनयी त्रिवेणी गाउँपालिका भित्रका ३० जनाको सहभागिता रहेको तालिम १८ दिन सम्म सञ्चालन गरिने भएको छ । विपद् व्यवस्थापनमा सुरक्षा निकाय र समुदायबिचको सहकार्य अपरिहार्य रहेकाले समुदाय सँग सहकार्य गर्ने गरी तालिम सञ्चलन गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक बरालले बताउनुभयो ।
“तालिमको उद्देश्य विपद् प्रकोपको अवस्थामा समुदायलाई तत्काल सहयोग पु¥याउन सक्ने जनशक्ति तयार गर्नु, आपत्कालीन सतर्कता, प्राथमिक उपचार, उद्धार सीप तथा स्थानीय तहमा विपद् पूर्व तयारी योजना निर्माणमा सहयोग पु¥याउनु रहेको छ”,उहाँले भन्नु भयो ।
विपद्का समयमा समुदाय नै पहिलो उद्धारकर्ता बन्ने भएकाले यस्ता तालिम अत्यन्त आवश्यक रहेको नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनु भयो ।
“विपद् आउँदा सबैभन्दा पहिले समुदाय नै अगाडि आउनुपर्छ । यस प्रकारका तालिमले सीमा क्षेत्रका नागरिकलाई सजग, सक्षम र आत्मनिर्भर बनाउनेछ,”उहाँले भन्नुभयो,“सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा समुदायसँगको सहकार्यमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय छ ।”
विनयी त्रिवेणी गाउँपालिका विभिन्न प्रकृतिको विपद्को जोखिम क्षत्रेमा रहेकाले त्यसको पूर्व तयारी स्वरूप सहकार्यमा तालिम सञ्चालन गरिएको वडा नं.१ का वडा अध्यक्ष दिपक पौडेलले बताउनु भयो ।
त्यसै गरी वडा नं.२ वडा अध्यक्ष पुष्पा आलेले विपद्को तयारीका लागि समुदायको नै प्रमुख भूमिका रहने हुँदा प्रथम चरणमा प्रतिनिधि मूलक रूपमा तालिम सञ्चालन गरिएको बताउनु भयो ।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपराज पाण्डेले विपद् को पूर्व जानकारी नहुने तर पूर्व तयारी गर्न सकिने भएको हुँदा समयमै तयारी अभ्यास गर्नु उपयुक्त हुने बताउनु भयो ।
तालिममा विनयी त्रिवेणी गाउँपालिकाका सबै वडाबाट ३० जना स्वयंसेवक सहभागी रहेका छन् । सहभागीहरूलाई सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमार्फत विपद्को समयमा सुरक्षित रहन र अरूलाई सुरक्षित बनाउने सीप प्रदान गरिनेछ ।
यस तालिमले विपद्को समयमा सुरक्षित, सक्षम र सजग समुदाय निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक, भानुदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक, दाउन्ने देवी रेडक्रस उपशाखाका सभापति सहित प्रशिक्षकहरूको सहभागिता रहेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस