बुलिङटार,२३ पुस,
नवलपरासी(बर्दघाट सुस्तापूर्व) बुलिङटार गाउँपालिकाको आयोजनामा आज उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक, विद्यालय तथा प्रतिभावान विद्यार्थी खेलाडीहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम सम्पन्न भएको छ। शैक्षिक उपलब्धि, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको कदर गर्दै आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८१ का उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा सरोकारवालालाई नगदसहित सम्मान गरिएको हो।
कार्यक्रममा कक्षा ५ को स्तरमापन परीक्षा, कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा, कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) तथा कक्षा १२ गरी विभिन्न तहमा उत्कृष्ट GPA प्राप्त गर्ने कुल ९६ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ।
SEE तर्फ GPA ३.६६ प्राप्त गरी सर्वाेउत्कृष्ट हुने विद्यार्थीलाई नगद रु. १०,००० सहित सम्मान गरिएको छ भने अन्य तहगत रूपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः रु. ५,०००, रु. ४,००० र रु. ३,००० नगदसहित सम्मान प्रदान गरिएको छ।
त्यसैगरी, जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न विधामा पदक प्राप्त गर्ने प्रतिभावान विद्यार्थी खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिएको छ।

शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्यसहित कक्षा ५, ८ र १० मा सबैभन्दा उत्कृष्ट औसत GPA हासिल गराउने कुल २२ जना विषयगत शिक्षकलाई सम्मान गरिएको छ। साथै कक्षा ५, ८, १० र १२ मा उत्तीर्ण प्रतिशतको आधारमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने १० वटा विद्यालयलाई समेत सम्मान गरिएको छ।
कार्यक्रममा गाउँपालिकाले आगामी दिनमा पनि शिक्षा, खेलकुद र सिर्जनशीलताका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई प्रोत्साहन गर्दै जाने गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले प्रतिबद्दता व्यक्त गर्नु भयाे। सम्मान कार्यक्रमले विद्यार्थी तथा शिक्षकमा थप उत्साह र प्रेरणा जगाउने अपेक्षा गरिएको छ।