२०८२ फागुन २, शनिबार

हुप्सेकोट गाउँपालिकाको ८ औँ गाउँसभा अधिवेशन सम्पन्न

  • निष्कर्ष
  • २०८२ पौष २५, शुक्रबार
हुप्सेकोट गाउँपालिकाको ८ औँ गाउँसभा अधिवेशन सम्पन्न

विष्णु गौडेल, हुप्सेकोट, २५ पुस,
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको ८ औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई हिउँदे तथा विधेयक अधिवेशनका रूपमा सञ्चालन गरिएको थियो ।
अधिवेशनको सुरुवातमा अध्यक्ष पाण्डेले गाउँसभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ अनुसार अधिवेशन आह्वान गरिएको जानकारी गराउँदै सबै सदस्यहरूलाई स्वागत गर्नुभयो ।

उहाँले गाउँपालिकाले स्थापना कालदेखि हालसम्म ३९ वटा ऐन जारी गरिसकेको, साथै २ वटा नियमावली, ८२ वटा कार्यविधि, ७ वटा निर्देशिका, ८ वटा मापदण्ड र विभिन्न नीति तथा रणनीतिहरू कार्यान्वयनमा ल्याइसकेको जानकारी दिनुभयो ।
अधिवेशनमा सार्वजनिक लेखा समिति, न्यायिक समिति, आर्थिक विकास समिति, पूर्वाधार विकास समिति, सामाजिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, अनुगमन तथा सुपरिवेक्षण समिति र सुशासन तथा संस्थागत विकास समितिका प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सभाले प्रस्तुत प्रतिवेदनका सुझाव र निष्कर्षलाई कार्यान्वयनमा ल्याउन गाउँकार्यपालिकालाई निर्देशन दिएको छ ।
अधिवेशनले बहुवर्षीय योजनाको स्रोत सुनिश्चितता सम्बन्धी प्रस्ताव, विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव, हुप्सेकोट गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, सार्वजनिक खरिद नियमावली मस्यौदा २०८२ लगायतका महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को बेरुजु फस्यौट सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ । साथै, संकल्प प्रस्ताव पारित गर्दै सभाले यसको कार्यान्वयनका लागि गाउँकार्यपालिकालाई निर्देशन दिएको छ ।
सभामा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले गाउँपालिकाको सुशासन, विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह राना, प्रमुखप्रशासकीय अधिकृत वेदहरी अधिकारी सहित जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस