विष्णु गौडेल,कावासोती,१ माघ,
गण्डकी प्रदेश सरकारद्वारा सञ्चालन गरिएको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) का तीन स्थानीय तहका नवप्रवर्तन परियोजना छनोट भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशले सार्वजनिक गरेको सूचिअनुसार हुप्सेकोट गाउँपालिका, कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका का परियोजनाले प्रदेश सरकारको स्वीकृति पाएका हुन् ।
हुप्सेकोट गाउँपालिकाबाट विपन्न लक्षित पशुपालन तथा नगदेबाली कार्यक्रम छनोट भएको छ । यस परियोजनाले विपन्न तथा सीमान्तकृत परिवारको आयआर्जन वृद्धि गर्दै स्वरोजगारको अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ ।
कावासोती नगरपालिकाबाट आविष्कार र उत्पादनको जग मेरो विद्यालय कार्यक्रम छनोट गरिएको छ । यस कार्यक्रममार्फत शिक्षा क्षेत्रमा आविष्कार र विद्यालय शिक्षा सुधारको विषय जोड दिइनेछ ।
र विनयी त्रिवेणी गाउँपालिकाबाट नगदे बाली खेती प्रविधि–अनुकूल तथा व्यावसायीकरण कार्यक्रम छनोट भएको छ । यसले आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत किसानको उत्पादन र आम्दानी बढाउने उद्देश्य लिएको छ ।
विनयी त्रिवेणी गाउँपालिका गत वर्ष पनि गण्डकी प्रदेश सरकारद्वारा सञ्चालन गरिएको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा छनौट भएको थियो ।
प्रदेश सरकारले यी परियोजनाहरू चालु आर्थिक वर्ष २०८२/८३ भित्र कार्यान्वयनमा ल्याउने जनाएको छ । नवप्रवर्तनमार्फत स्थानीय तहमा कृषि, पशुपालन र उद्यमशीलता प्रवद्र्धन गर्दै रोजगारी र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ ।
नवलपरासी पूर्वका यी तीनै पालिकामा कार्यान्वयन हुने परियोजनाले स्थानीय स्तरमा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)का तीन स्थानीय तह सँगै गण्डकी प्रदेशका १५ स्थानीय तहको योजना छनौट गरिएको हो ।
