२०८२ फागुन २, शनिबार

मध्यबिन्दु–१५ मा बाल अधिकार र किशोरी अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • निष्कर्ष
  • २०८२ माघ ४, आईतबार
मध्यबिन्दु–१५ मा बाल अधिकार र किशोरी अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न

मध्यविन्दु, ४ माघ , नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका वडा नं. १५ मा वडास्तरीय बाल क्लबका पदाधिकारी तथा बालबालिकालाई लक्षित गरी बाल अधिकार, किशोरी अधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम मध्यबिन्दु–१५ स्थित ज्ञानोदय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो। जागृती बाल तथा युवा सरोकार नेपालद्वारा आयोजित उक्त कार्यक्रम क्यान्नलानको सहयोग तथा जिल्ला प्रहरी कार्यालय र मध्यबिन्दु नगरपालिका वडा नं. १५ को समन्वयमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा वडास्तरीय बाल क्लबकी अध्यक्ष तथा किशोरी सशक्तीकरण कार्यक्रमकी साथी शिक्षक शीतल चौधरीको सभाध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा ज्ञानोदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर घर्ती रहनु भएको थियो।

कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालकी सिनियर प्रोग्राम अफिसर राधा देवी बोटेले कार्यक्रमको उद्देश्य, किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा, पालिका, विद्यालय तथा समुदायस्तरमा सञ्चालन भइरहेका गतिविधि, बालमैत्री स्थानीय शासनका सूचक तथा यसको महत्वबारे सहभागीहरूलाई जानकारी गराउनु भयो।

यसैगरी, साथी शिक्षक ऋतु घर्तीले बाल अधिकारको अवधारणा, यसको सुरुवात तथा बालबालिकाका मौलिक अधिकारबारे सहजीकरण गर्नु भएको थियो भने साथी शिक्षक सजिना अधिकारीले किशोरी अधिकारसँगै बालबालिकाका कर्तव्यहरूको विषयमा जानकारी दिनु भयो।

कार्यक्रममा सहभागी किशोरकिशोरीहरूले अधिकार र कर्तव्यका विषयमा स्पष्ट जानकारी प्राप्त गरेको, हिंसा वा दुर्व्यवहारको अवस्थामा सम्पर्क गर्न सकिने निकाय तथा हटलाइन नम्बरबारे थाहा पाएको तथा विभिन्न महत्वपूर्ण विषयहरू सिक्न पाएकोमा खुशी व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि धनबहादुर घर्तीले कार्यक्रमलाई अत्यन्त महत्वपूर्ण बताउँदै सहभागीहरूलाई तालिमबाट सिकेका ज्ञान र सीप व्यवहारिक जीवनमा उतार्न आग्रह गर्नु भयो।

कार्यक्रमका क्रममा सहभागी बालबालिकालाई बाल अधिकार तथा बालसम्बन्धी कानुनी जानकारी पुस्तिका, बालमैत्री स्थानीय शासन सम्बन्धी सामग्री, साइबर बुलिङ विरुद्धका पुस्तिका तथा बाल विवाह विरुद्धको कथापुस्तक वितरण गरिएको थियो।

कार्यक्रम सञ्चालनका क्रममा ज्ञानोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डे तथा प्रधानाध्यापक टोकबहादुर सुनारीले अनुगमन गर्नु भएको थियो। कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालकी सामाजिक परिचालिका रुपा भट्टराईको समेत उपस्थिति रहेको थियो।

उक्त अभिमुखीकरण कार्यक्रममा जम्मा ४० जना बालबालिकाको सहभागिता रहेको थियो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस