फेसबुकमा पछ्याउनुहोस्
हुप्सेकोट,७ माघ,
हुप्सेकोट गाउँपालिकामा तथ्याङ्कीय साक्षरता तथा क्षमता विकास अभिवृद्धि तथा हुप्सेकोट गाउँपालिकाको वस्तुगत विवरण तयारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तथ्याङ्क समन्वय कार्यालय कास्कीको आयोजनामा सम्पन्न कार्यक्रममा तथ्याङ्कीय साक्षरता तथा सही तथ्याङ्क प्राप्तिका लागि अपनाइने विधिका विषयमा अन्तरक्रिया गरिएको हो । साथै हुप्सेकोट गाउँपालिकाको एकीकृत बस्तुगत विवरण तयार गर्ने विषयमा प्रारम्भिक छलफल गरिएको छ ।
कार्यक्रममा तथ्याङ्क समन्वय कार्यालय कास्कीका तथ्याङ्क समन्वय अधिकारी नन्दलाल सापकोटाले तथ्याङ्कको महत्त्व, तथ्याङ्कीय साक्षरता विकास, स्थानीय तहमा तथ्याङ्क सङ्कलन तथा उपयोग, र हुप्सेकोट गाउँपालिकाको वस्तुगत विवरण तयार गर्दा ध्यान दिनुपर्ने विषयमा प्रकाश पार्नु भएको थियो ।
हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तथ्याङ्कमा आधारित योजना, नीति निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताउनु भएको थियो । गाउँपालिकाको जनसङ्ख्या, शिक्षा,स्वास्थ्य,कृषि लगायतको पहुँच र उपलब्धता अव तथ्याङ्कले नै बोल्ने गरी एकीकृत पुस्तीका निर्माण गर्न लागिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
तथ्याङ्क समन्वय कार्यालय कास्कीका रुद्रप्रसाद अधिकारीले हुप्सेकोट गाउँपालिकाको एकीकृत बस्तुगत विवरणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह राना मगले स्थानीय तहमा तथ्याङ्कप्रति चासो र समझदारी बढाउन कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनु भयो ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, विभिन्न शाखा प्रमुख, कर्मचारीहरू, तथ्याङ्क समन्वय कार्यालयका कर्मचारी, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।