विष्णु गौडेल,९ माघ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका वडा नं. ५ स्थित दुर्लुङ्गा बसेनीमा निःशुल्क मानव स्वास्थ्य शिविर तथा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिक रूपमा विकट मानिने उक्त गाउँमा एकै साथ सञ्चालन गरिएको शिविरबाट स्थानीय नागरिक तथा पशुपालक कृषकहरू लाभान्वित भएका छन् ।
शिविरमा नागरिकहरूको स्वास्थ्य परीक्षण, आवश्यक औषधि निःशुल्क वितरणका साथै पशुपालक कृषकहरूलाई पशु रोगसम्बन्धी परामर्श र औषधि वितरण गरिएको थियो ।
हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले दुर्गम बस्तीका नागरिकलाई लक्षित गरी गाउँमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“भौगोलिक कठिनाइका कारण स्वास्थ्य संस्थामा पुग्न नसक्ने नागरिक र कृषकहरूका लागि गाउँमै सेवा पु¥याउने हाम्रो प्राथमिकता हो । यस्ता शिविरले स्वास्थ्य सचेतना बढाउनुका साथै समयमै रोग पहिचान गर्न सहयोग गर्छ ।”

प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले गाउँपालिकाले नागरिकको आधारभूत स्वास्थ्य र कृषकको जीविकोपार्जनसँग जोडिएको पशु स्वास्थ्यलाई समान रूपमा महत्व दिएको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार,“मानव स्वास्थ्य र पशु स्वास्थ्य दुवै सुदृढ भए मात्र ग्रामीण जीवनस्तर उकासिन्छ । त्यसैले यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।”
स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले स्वास्थ्य शिविरबाट ५० जना स्थानीय नागरिकले सेवा लिएको जानकारी दिनुभयो ।
“परीक्षण गरिएका मध्ये केही नागरिकमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको छ”,उहाँले भन्नु भयो,“थप उपचार आवश्यक पर्नेहरूलाई देउराली प्राथमिक अस्पतालमा रिफर गरिएको छ ।”

यस्तै, पशु सेवा शाखा प्रमुख बुद्धि बहादुर देउजाका अनुसार पशु स्वास्थ्य शिविरमा ६८ जना स्थानीय किसानले पालेका पशुचौपायाको जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
उहाँले भन्नुभयो, “शिविरमार्फत ११ सय भन्दा बढी बाख्रा, चार सय ५० भन्दा बढी गाईगोरु र एक सय ४१ भन्दा बढी भैंसीका लागि आवश्यक औषधि वितरण गरिएको छ ।”
गाउँपालिकाले आफ्नै गाउँमा आएर सेवा प्रदान गरेपछि स्थानीय नागरिक तथा कृषकहरू खुसी भएका छन् । उनीहरूले नियमित रूपमा यस्ता शिविर सञ्चालन गर्न गाउँपालिकासँग अनुरोध समेत गरेका छन् ।
